बाग्मती

बेचविखनको जोखिममा रहेका ८८ महिलाको उद्धारःसमुदायमा पुनःस्थापित

मुग्लिन । मानव बेचविखनविरुद्व काम गर्दै आएको संस्था केआइएन नेपालले आर्थिक वर्ष २०७५÷७६ मा विभिन्न बहानामा बेचिन सकिने जोखिममा परेका जिल्लाका ८८ महिलालाई उद्धार गरी समुदायमा पुनःस्थापित गराएको छ ।

विभिन्न १० सीमानाका र भारतबाट उद्वार गरेकामध्ये चितवनमा ल्याइएका ८८ जनालाई समुदायमा पुनःस्थापित गराएको केआइएन नेपाल चितवनकी संयोजक केमिका घिमिरेले मङ्गलबार मानव बेचविखनविरुद्व अन्तर्रा्ष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरेका हुन ।

उनले ८८ मध्ये ६८ लाई परिवारसँग र बाँकी २१ लाई सीपमूलक तालीम दिइएको बताएका छन । गरीब र विपन्न भएका कारण धैरै चेली बाध्यतामा परेर बेचिन पुगेको घिमिरेको भनाइ छ । संस्थाले विसं २०६४ देखि मानब बेचविखन तथा ओसारपसारविरुद्ध देशका १५ जिल्लामा काम गर्दै आएको छ । यस अवधिमा संस्थाले विभिन्न चुनौतीका बावजुद सयाँै चेलीहरु उद्धार गर्दै आएको जनाएको छ ।

चेलीहरु घरमा जानकारी नदिई विवाहको बहाना, भारतमा आफन्तलाई भेट्न जाने, जागिर खान जानेजस्ता विभिन्न कारण देखाई जाने गरेको संयोजक घिमिरेले बताए । केआइएन चितवनले विभिन्न सचेतनामूलक कार्यक्रमसँगै चेलीहरूलाई समुदायमा घुलमिलसँगै सीपमूलक तालीम गराउँदै आएको छ ।

मानव बेचविखनविरुद्व जिल्लामा आश्रित चेलीलाई विगतमा आफूले भोगेको पीडालाई भुलेर सचेतनासँगै आत्मनिर्भर अभियानमा लाग्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सुझाव दिएका छन ।

विभिन्न हिंसामा परेपछि चेलीहरु बेचिने जोखिममा परेको भन्दै चितवनमा यस्ता कार्य गर्नेलाई कडाइ गर्ने अभियान सञ्चालन गरिरहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताएका छन । उहाँले दिवसकै अवसरमा केआइएनमा आश्रित २१ चेलीलाई एक दिनको सामूहिक भोजन समेत गराएका थिए ।