बाग्मती

पूर्वपश्चिम राजमार्गका दुई स्थानमा आकाशे पुल निर्माण गरिदै

चितवन । रत्ननगर नगरपालिकाले पूर्वपश्चिम राजमार्गका दुई ठाउँमा आकाशे पुल निर्माण गर्ने भएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र पर्ने सौराहाचोक र टाँडीचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

नगरपालिकाका प्रमुख नारायण वनका अनुसार यसै आर्थिक वर्षबाट काम शुरु गर्न नगरपालिकाले रु एक करोड ४० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र सङ्घीय सरकारका सांसदहरुसँग अनुरोध गरिएको उनले बताएका छन ।

आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । नगरपालिकाका योजना शाखा प्रमुख ई प्रकाश ढुङ्गानाका अनुसार दुई वटा पुल सम्पन्न गर्न रु नौ करोड ५० लाख लाग्नेछ । सडक चौडा भएमा सार्न मिल्ने गरी फलामको पुल निर्माण गर्न लागिएको हो । ढुङ्गानाले राजमार्ग फराकिलो हुने सम्भावना भएकाले बढाउन मिल्ने गरी नक्साङ्कन गरिएको बताए ।

सडकको दुवैतर्फ घना बस्ती भएकाले विद्यार्थी, वृद्धवृद्धा, फरक क्षमता भएका मानिससँगै सर्वसाधारणलाई राजमार्ग पार गर्न कठिन हुँदै आएको छ । यी पुल जिल्लाका पहिलो आकाशे पुल हुनेछन् । नगरपालिकाको सौन्दर्यतालाई समेत ध्यानमा राखेर आकर्षक पुल बनाइने प्रमुख वनले जानकारी दिएका छन ।

एघार जुवाडे पक्राउ

जुवा खेलेको आरोपमा प्रहरीले मङगलबार ११ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–१५ मङ्गलपुर नमूनाटोलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई शैलेन्द्र श्रेष्ठको कोठामा लुकीछिपी कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट रु दुई लाख ९३ हजार ३५० नगदसहित दुई थान मोबाइल, गलैँचा एक थान, कोठाको चौकोस एक थान, कौडा ३१ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई एकापसमा बाजी थापी कौडा खेलेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने ३५ वर्षीय हरि श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार श्रेष्ठले छिमेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनलाई प्रहरीले नगर वन क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन ।