अन्तर्राष्ट्रिय

चीनको उत्तर पश्चिमी सिनच्याङ २३ लाख नागरिक गरिबीबाट मुक्त

बेइजिङ । चीनको उत्तर पश्चिमी सिनच्याङ युगुर स्वायत्त प्रदेशमा पाँच बर्षमा २३ लाख १० हजार नागरिक गरिबीबाट मुक्त गरिएको क्षेत्रीय अधिकारीले मङ्गलबार जनाएका छन् ।

सन् २०१३ मा उक्त क्षेत्रको गरिबीदर १९.५ प्रतिशत रहेकोमा सन् २०१८ मा उक्त क्षेत्रको गरिबी दर छ प्रतिशतमा झरेको छ । सन् १९७८ मा उक्त प्रदेशको ग्रामिण इलाकाका नागरिकको प्रतिव्यक्ति आय ११९ युआन रहेकोमा सन् २०१८ मा ११ हजार ९७५ युआन पुगेको सिनच्याङ क्षेत्रीय सरकारका प्रमुख शोहरत जकिरले बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा बताएका छन ।

शोहरतका अनुसार सिनच्याङले गत बर्ष गरिबी निवारणका लागि ३३ अर्ब ४० करोड युआन बजेट योजनावद्ध तरिकाले लगानी गरेको र यसको ८५.५ प्रतिशत होतान काश्गर, अक्सु र किजिल्सु किर्गिजमा खर्च गरेको छ । सिनच्याङ प्रदेश चीनको सबैभन्दा ठूलो ताक्लीमाकन मरूभूमिको वरपर पर्दछ । ण्चीनका राष्ट्रपति सी चिनपिङको सन् २०२० सम्म चीनबाट गरिबी निवारण गर्ने कार्यक्रम अनुसार चीनले युद्धस्तरमा काम गरिरहेको छ ।

चीनले भौगोलिक विकटता भएका सानातिना वस्तीलाई सामुहिक समाजवादी नमूना वस्तीको विकास गरी गरिब नागरिकलाई पुनस्थापना गर्ने साथै ठूला गरिब बस्ती तथा गाउँहरूमा भौतिक संरचनाको निर्माण गरी गरिबी निवारणको कार्यक्रमलाई सफल कार्यान्वयनमा ल्याएको छ ।