समाचार

प्रशासन मन्त्रालयद्वारा अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७५।७६ समाप्त भएकाले कार्यसम्पादन मूल्याङ्कन फाराम, सम्पत्ति विवरण बुझाउनेजस्ता कार्य गर्नुपर्ने भएकाले प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र छाडी नजान निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय प्रशासन शाखाका शाखा अधिकृत महेशकुमार दाहालले जानकारी दिए ।

उनले कार्य क्षेत्र छोडी काज तथा बिदामा रहँदा स्थानीय तहको काममा बाधा हुने हुँदा बिदा।काजमा रहेका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल कार्यक्षेत्रमा फर्की कामकाज गर्न निर्देशन दिए । यसअघि बाढीपहिराकोे बेलासमेत मन्त्रालयले स्थानीय तहका प्रशासकीय प्रमुखलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो ।