कृषि

प्रदेश नं १ मा ७२ प्रतिशत रोपाइँ

विराटनगर । प्रदेश नं १ मा आइतबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि विकास निर्देशनालयका अनुसार प्रदेश नं। १ का तीन लाख ४० हजार ८२९ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा समयमै वर्षा नहुँदा आइतबारसम्म ७१ दशमलव ७८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो ।

गत वर्ष सोही अवधिमा ८२ दशमतलव ८९ प्रतिशत रोपाइँ भएको प्रदेश नं १ का भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिएका छन् ।

प्रदेशको १४ जिल्लामध्ये उच्च पहाडी तीन जिल्ला (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु) मा ७७ दशमलव १३ प्रतिशत, मध्यपहाडी आठ जिल्ला (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ६५ दशमलव ३८ प्रतिशत रोपाइँ भएको छ । यसैगरी तराईका तीन जिल्ला (मोरङ, झापा र सुनसरी)मा ७३ दशमलव ७८ प्रतिशतमा रोपाइँ भएको प्रवक्ता उप्रेतीले जानकारी दिए ।

प्रदेशको उच्च हिमाली जिल्ला ताप्लेजुङमा धान लगाउने कूल क्षेत्रफल आठ हजार ७३७ हेक्टरमध्ये छ हजार ९८९ हेक्टर अर्थात् ८० प्रतिशत, सङ्खुवासभामा १३ हजार ८५१ मध्ये १० हजार ३८८ अर्थात् ७५ प्रतिशत, सोलुखुम्बुमा एक हजार ५२५ मध्ये एक हजार २२० अर्थात् ८० प्रतिशत जग्गामा रोपाइँ भएको छ ।

यस्तै उच्च पहाडी जिल्ला पाँचथरमा धान लगाउने कूल क्षेत्रफल नौ हजार २०३ हेकटरमध्ये सात हजार २०८ अर्थात् ७७ प्रतिशत, इलाममा १४ हजार ८१५ मध्ये आठ हजार ५९२ अर्थात् ५८ प्रतिशत, भोजपुर १८ हजार ०९२ मध्ये १२ हजार ६६४ अर्थात ७० प्रतिशत, तेह्रथुम १० हजार १७५ मध्ये छ हजार ६१३ अर्थात् ६५ प्रतिशत, धनकुटा सात हजार ९५० मध्ये तीन हजार ५७७ अर्थात् ४५ प्रतिशत, उदयपुर १३ हजार ३८० मध्ये नौ हजार ३६६ अर्थात् ७० प्रतिशत, ओखलढुङ्गा चार हजार ४०३ मध्ये दुई हजार ६४१ अर्थात् ६० प्रतिशत र खोटाङमा १२ हजार ८९८ मध्ये आठ हजार ०९९ हेक्टर अर्थात् ६५ दशमलव ३८ प्रतिशत जग्गा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी तराईका तीन जिल्लामध्ये झापाको कूल ८७ हजार ५०० हेक्टरमध्ये ६५ हजार ६२५ अर्थात् ७५ प्रतिशत, मोरङमा ८३ हजार ३०० हेक्टरमध्ये ६२ हजार ४७५ अर्थात् ७५ प्रतिशत र सुनसरीमा ५५ हजार हेक्टरमध्ये ३८ हजार ५०० हेक्टर जग्गा अर्थात् ७० प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

उच्च पहाडी तीन जिल्लामा साउनको तेस्रो हप्तासम्म र पहाडी जिल्लामा साउनको अन्तिमसम्ममा रोपाइँ सकिने प्रवक्ता उप्रेतीले बताए । तराईका तीन जिल्लामा भदौको पहिलो हप्तासम्मा रोपाइँ सकिनेछ ।

आकाशे पानी, बोरिङ र नहरको सिँचाइबाट यस क्षेत्रमा कृषकले धानखेती लगाउने गर्दछन् । कतिपय पहाडी जिल्लाका सेवा कार्यालय स्थापना नभएको, कर्मचारी दरबन्दीअनुसार नभएको र स्थानीय निकायसँगको समवन्यको अभावमा सही तथ्याङ्क आउन केही समय लागेको मन्त्रालयले जनाएको छ ।

युवाको वैदेशिक रोजगारतर्फ आकर्षित हुनु, आधुनिक प्रविधिको प्रयोग नहुनु, धानखेती गर्ने किसानको आकर्षण अन्य नगदेबालीतर्फ हुनुले समयमै रोपाइँ हुन नसकेको बताइएको छ ।