बाग्मती

घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व आज मनाइँदै

काठमाडौँ। साउन कृष्ण चतुर्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक एवं भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधनालाई महत्वपूर्ण मानिन्छ ।