पर्यटन/संस्कृति

बिहानैदेखि शक्तिपीठमा दर्शनार्थीको घुइँचो

भक्तपुर । भक्तपुरका विभिन्न शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।

नेवार समुदायले आज बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएकाले मन्दिरमा भीड लागेको हो ।

नेवार समुदायमा रोपाइँ सकिएको पर्वका रुपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा मनाउने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गर्ने गरिन्छ । त्यसका साथै गाइजात्रामा प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच तथा व्यङ्ग्यात्मक नाटकको प्रशिक्षणसमेत आजदेखि शुरु गरिन्छ ।