बाग्मती

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई प्रहरी नियन्त्रणमा

रत्ननगर । जिल्ला प्रहरी कार्यालय चितवनले मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० बस्ने वर्ष २३ का सागर क्षेत्री र वर्ष ३४ का दीपेन्द्र पण्डित रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिएका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको हो । लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग करीब रु आठ लाख लिएका थिए । पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

फरार दुई अभियुक्त पक्राउ

चितवन प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । चितवन रत्ननगर नगरपालिका–६ सौराहास्थित रेन फरेष्ट होटलमा कोठा बुक गरी बसेका काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ३९ की गीता गुरूङ र वर्ष १७ का पर्वत गुरूङलाई पक्राउ गरेको हो ।

काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ बस्ने वर्ष ४९ का छन्दबहादुर थापालाई उनीहरुले सोही होटलको स्वीमिङपुलमा हत्या गरेको मृतक परिवारको जाहेरी परेको थियो । शनिबार उनीहरुले मृतक थापालाई स्वीमिङ पुलमा अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा लैजाँदा मृत्यु भएको बताउँदै सोही होटलमा बस्दै आएका थिए ।

उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिएका छन ।

चोरी गर्ने पक्राउ

रातको समयमा भरतपुर क्षेत्रमा चोरी गर्दै हिँड्ने एक पक्राउ परेका छन् । धादिङ जिल्ला चैनपुर गाउँपालिका–७ स्थायी घर भई हाल जिल्ला नवलपरासी गैँडाकोट बस्ने वर्ष २३ का बुबेश वागदास र जिल्ला प्यूठान झिमरूक गाउँपालिका–२ घर भई जिल्ला गैँडाकोट बस्ने वर्ष २३ का विजय केसीलाई प्रहरीले पक्राउ हो ।

उनीहरुको साथबाट एक थान सलाई रेन्च, पेचकस ताल्चा थान र साइकलको स्ट्याण्ड डण्डीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।