अन्तर्राष्ट्रिय

रूसी प्रतिपक्षी नेता नाभाल्नी ‘उपचारपछि’ पुनः जेल चलान

मस्को । रूसी प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीलाई अनुहारमा ‘एलर्जी’ को समस्या देखिएपछि मस्कोबाहिरको एक अस्पतालमा उपचारपछि पुनः जेल चलान गरिएको छ ।

नाभाल्नीका निजी वकील तथा चिकित्सकले भने उहाँलाई अज्ञात बिषाक्त तत्व दिइएको सूचना उहाँले उपचार गरेको अस्पताल नम्बर ६४ बाट गोप्यरूपमा प्राप्त गरेको दावी गरेका छन् । नाभाल्नीको स्वास्थ्य अवस्थामा समस्या रहेकै समय पुनः जेल चलान गरिएको उनले वकील होल्गा मिखाइलोभले सञ्चारकर्मीसँग बताएका छन ।

नाभाल्नीलाई मुखमा एलर्जीको समस्या आएको भनी आइतबार अस्पताल भर्ना गरिएको थियो । शनिबार नै नाभाल्नीका समर्थकले स्थानीय निर्वाचनलाई स्वच्छ तथा निष्पक्ष बनाउनुपर्ने भन्दै गरेको प्रदर्शनीमा करिब एक हजार ४०० प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

प्रतिपक्षी नेताका निजी चिकित्सक अनास्तासिया भाजिल्यभाले नेता नाभाल्नीको रोगको उपचार नहुँदै ‘माथिको आदेश’ भन्दै जेलमा फिर्ता पठाइएको दावी गरेका हुन । उनले नाभाल्नीको शरीरमा कुनै ‘विषाक्त रासायनिक तत्व’ को प्रयोगका कारण एलर्जीको समस्या भएको आशङ्का व्यक्त गरेका छन । नाभाल्नीले कानून विपरीत प्रदर्शनको आयोजना गरेको भन्दै अघिल्लो साता नियन्त्रणमा लिई जेलमा राखिएको थियो ।