राजनीति

विप्लवका कार्यकर्ता नेकपा प्रवेश गराउदै अध्यक्ष दाहाल भन्छन्ः २४ जनाको रहरले क्रान्ती हुन्न

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागिपरेको बताएका छन् । नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै उनले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्ट्याउन केही तत्व लागिपरेको बताए।

अध्यक्ष दाहालले भने, “अझै पनि प्रतिक्रियावादीहरु वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाएहुन्थ्यो भन्नेमा छन् ।” जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष दाहालले भने, “यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।” उनले जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै नेता तथा कार्यकर्ता एक ठाउँमा एकताबद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने बताए । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उनको भनाइ थियो । “हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो”, अध्यक्ष दहालले भने । क्रान्ति दुई÷चार जनाको रहले नहुने उल्लेख गर्दै उनले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गरे । पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिइने उनले बताए ।

नवप्रवेशी सो समूहका ब्यूरो सदस्य रमण घिमिरेले क्रान्तिका नाममा आफूहरुले बाटो बिराएको महशुस भएपछि चन्द समूह परित्याग गरी नेकपामा प्रवेश गरेको बताए । नेकपा प्रवेश गर्नेमा ब्यूरो सदस्य घिमिरे, आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मालगायत छन् ।