समाचार

कांग्रेस र राजपाको नाराबाजीपछि संसद अबरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् ।

प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताएपछि काङ्ग्रेस र राजपाका सांसद सभामुखको आसन अगाडिको रोष्टममा पुगेर नाराबाजी गर्दै विरोध जनाएका थिए ।

काङ्ग्रेस र राजपाका सांसदले गत असारमा प्रहरीको कारवाहीमा सर्लाहीमा मारिएका कुमार पौडेल तथा बालुवा निकालेको खाल्डोमा परी सर्लाही ईश्वरपुरका १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रेका स्थानीयवासी र प्रहरीको झडपका क्रममा केवल महतोको मृत्यु भएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेका हुन् ।

पौडेल नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाहीका इन्चार्ज थिए । यस्तै अवैध बालुवा निकाल्ने क्रममा खनिएको खाल्डोमा परेर १२ वर्षीय बालक रायको मृत्यु भएको थियो । बालक मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका केवल महतोको प्रहरीसँगको झडपमा निधन भएको थियो ।