कर्णाली प्रदेश

बिमारी भएर उपचार गर्न नसकेका पत्रकार शर्मालाई सहयोगको लागि खाता नं ०८८००००५१८

सुर्खेत। तीन महीनादेखि बोनम्यारोबाट थलिएका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि सहयोग जुट्न थालेको छ । आर्थिक अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा र शर्मा कार्यरत पत्रिकाले सहयोगको घोषणा गरेका हुन् ।

महासङ्घले रु ५० हजार सहयोग प्रदान गर्ने निर्णय गर्नुका साथै सेन्चुरी बैंक सुर्खेत शाखामा ०८८००००५१८ नम्बरको खाता खोलेर सहयोगका लागि आग्रह गरेको छ । महासङ्घ अध्यक्ष गणेशकञ्चन भारतीले विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट आर्थिक सहयोग जुट्न थालेको बताए । संसदीय मामिला पत्रकार समाजले रु २५ हजार, अध्यक्ष भारतीले व्यक्तिगत रु १५ हजार तथा महासङ्घका पदाधिकारीले प्रतिव्यक्ति रु पाँच:पाँच हजार सहयोगको घोषणा गरेका छन् । शर्मा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको सचिवसमेत छन् ।

शर्मा कार्यरत पत्रिका साझा बिसौनी दैनिकले रु एक लाख ११ हजार १११ प्रदान गरेको छ । पत्रिकामा कार्यरत कर्मचारीले एक महीनाको पारिश्रमिक रकम सहयोगस्वरुप प्रदान गरेका छन् । २३ वर्षीय शर्माको भारतको अहमदावाद अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले रु १५ लाख आवश्यक पर्ने बताएपछि आर्थिक अभावकै कारण बोनम्यारो प्रत्यारोपण हुन सकेको छैन ।