पर्यटन/संस्कृति

पर्रोहा परमेश्वर ज्योर्तिलिङ्गमा भक्तजनको घुइँचो

खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धाम (श्रावणी मेल) मा आज भक्तजनको घुइँचो लागेको छ ।

प्राचीन तथा ऐतिहासिक शिव ज्योर्तिलिङ्गमा साउनको दोस्रो सोमबार पूजाआजा तथा जलार्पण गर्न छाता ओढेर भक्तजन लाममा बसेको पर्रोहा परमेश्वर ज्योर्तिलिङ्ग बोलबम धामका अध्यक्ष रामवली चौधरीले जानकारी दिए ।

“यसभन्दा पहिलेको सोमबारभन्दा यसपटक भक्तजनको भीडभाड बढी देखिएको छ”, उनले भने । पर्रोहा परमेश्वर ज्योर्तिलिङ्गमा भक्तजनले विभिन्न स्थानबाट वैदिक विधिले काँवर र कमण्डलुमा पवित्र गङ्गाजल उठाई बोलबम धाममा जलार्पण गर्ने प्रचलन छ । बोलबम जलार्पण तथा श्रावणी मेलाका लागि कपिलवस्तुका वाणगङ्गा, लक्ष्मणपुरघाट त्रिवेणीधाम र देवघाट धाममा पैदलयात्रा गरेर जल ल्याई धाममा जलार्पण गरिन्छ ।

साउन महीनाभर शिवजीलाई जलार्पण र रुद्राभिषेक गरिने पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबमधामका मुख्य पुजारी चन्द्र नेपालले जानकारी दिए । उनका अनुसार साउन महीना शिवजीको प्रिय महीना भएकाले शिवजीको पूजाआजा, आराधना र भजनकीर्तन गर्नाले रोगव्याधी नलाग्ने, सङ्कट मोचन हुने र आयु लामो हुने धार्मिक विश्वास छ ।

“रुद्राभिषेक भगवान् महादेवको मात्रै होइन सबै देवीदेवताको वैदिक मन्त्रमार्फत गरिन्छ”, उनले भने । पुजारी नेपालले शास्त्रीय प्रमाणका लागि ज्योर्तिलिङ्गको अध्ययन अनुसन्धान शुरु भएको उल्लेख गर्दै स्वयं उत्पत्ति भएको सो ज्योर्तिलिङ्गको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने आरोग्य तथा ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

सो धाममा शिव पाञ्चायन, गणेश, पार्वती मन्दिर, लक्ष्मीनारायण, राधाकृष्ण, सन्तोषीमाताको मन्दिर, चन्द्रमा आकारको सरोवर, १०८ शिवलिङ्ग, पाँच।पाँच पीठको शिवमूूर्ति र नागकुण्ड छन् ।