अन्तर्राष्ट्रिय

पेरुमा चुलिएको संकट सुल्झाउन चुनावको प्रस्ताव

लिमा । लिमा, पेरुका राष्ट्रपति मार्टिन भिकाराले मुलुकमा जारी संस्थागत संकट सुल्झाउन आमनिर्वाचन घोषणा गर्न प्रस्ताव गरेका छन् ।

पेरुमा सन् २०२१ मा चुनाव हुनुपर्ने नियमित कार्यसूची भएपनि राष्ट्रपति मार्टिन भिकाराले सन् २०२० मै चुनाव गर्न प्रस्ताव गरेका छन् । विपक्षीको बहुमत रहेको संसदले भ्रष्टाचार नियन्त्रणमा सख्त कारबाही गर्नेगरी सुधारको कार्यक्रममा आवश्यक सहयोग नगरेपछि राष्ट्रपतिले उक्त प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति भिकाराले संसदसँग हरेक विषयमा विवाद गर्नु परेको छ । स्थानीय संचार माध्यमले राष्ट्रपतिले पटकपटक संसद विघटन गर्ने चेतावनी दिँदै आएका बताएका छन् । उनले आगामी वर्ष जुनमा चुनाव गर्ने प्रस्ताव गरिरहैका छन् ।

पेरु सरकारमाथि जनताले निरन्तर अविश्वास गरेपछि पेरुका जनताले गत डिसेम्बरमा राष्ट्रपतिको सुधार प्रस्तावलाई जनमतसंग्रह मार्फत नै पक्षमा मतदान गरिसकेका छन् । राष्ट्रपतिको उक्त प्रस्तावमा सरकारभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रस्ताव छ ।

तर राष्ट्रपतिको प्रस्तावलाई संसदले अस्वीकार गर्ने बताइसकेको छ । पेरुको संविधानमा संसदको कार्यकाल पाँच वर्ष हुनेगरी तोकिएको छ ।

राष्ट्रपति भिकाराले सुधारका कार्यहरुमा गतिरोध उत्पन्न भएकाले संसदको कार्यकाल एक वर्ष छोट्याई सन् २०२० को जुलाई २८ बनाउन खोज्नु भएको छ ।