अन्तर्राष्ट्रिय

क्युबाका राष्ट्रपति भेनेजुएला भ्रमणमा

काराकास । काराकास, क्युवाका राष्ट्रपति मिगेल डायाज–केनेल भेनेजुएलाको भ्रमणका निम्ति आइतबार राजधानी काराकास आइपुगेका छन् । दक्षिण अमेरिकी प्रगतिशील राजनीतिक दलहरुको साओ पाउलो फोरमको बैठकमा भाग लिन राष्ट्रपति केनेल भेनेजुएला आइपुगेका हुन् ।

भेनेजुएलाको सत्तारुढ पार्टी र संकटको सामना गर्नु परेका राष्ट्रपति निकोलास मदुरोलाई विगतदेखि गरिरहेको सहयोगलाई अझ बढी समृद्ध तुल्याउन भ्रमणले सहयोग पुग्ने राष्ट्रपति केनेलले बताए ।

काराकासस्थित माइक्वेटा सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति केनेलले भने, – क्युवाले भेनेजुएलालाई बिनाशर्त समर्थन र अनुमोदन गरिरहेको छ, र यसलाई हामी निरन्तरता दिन चाहन्छौं । हामी भेनेजुएलाका क्रान्तिकारीको पक्षमा छौं ।

राष्ट्रपति केनेलले दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रका बामपन्थी शक्तिहरु एकताबद्ध रहेको देखाउन पनि मञ्चको बैठक महत्वपूर्ण हुने बताए ।

अफ्रिका, एसिया र युरोप समेतका विश्वका विभिन्न भागबाट प्रगतिशील राजनीतिक समूहका प्रतिनिधिमण्डलले तीन दिने यस सम्मेलनमा भाग लिँदैछन् । उक्त सम्मेलन शुक्रबारदेखि शुरु हुँदैछ ।