लुम्बिनी

चार वर्षअघि निर्माण सम्पन्न भएको सडकमा पचासौँ ठाउँमा खाल्डाखुल्डी

नेपालगञ्ज। चार वर्षअघि निर्माण सम्पन्न भएको नेपालगञ्जको राँझादेखि जमुनहासम्मको ‘फोरलेन’ सडकमा पचासौँ ठाउँमा खाल्डाखुल्डी परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक डिभिजन कार्यालयमार्फत यो सडक निर्माण गरिएको हो ।

पप्पु निर्माण कम्पनीले निर्माण गरेको गरेको यो सडक शुरुआती चरणमै विवादमा परेको थियो । सडक निर्माणमा चरम लापरवाही भएकामा त्यसैबेला स्थानीय राजनीतिक दल, नागरिक समाजले विरोध जनाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखायो तर अन्ततः कसैको केही लागेन र कमसल खालको सडक निर्माण भएरै छाड्यो ।

कूल १० किलोमिटर लम्बाइको यो सडकको खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले बेलाबेलामा पुर्ने गरे पनि कमसल निर्माणका कारण सडकको अर्को स्थानमा खाल्डाखुल्डी पर्ने गर्छ । सडकको दयनीय अवस्थाका कारण उपमहानगरपालिका अहिले सडक टालटुलको काममा लागेको छ । “सवारी साधन दुर्घटना हुनबाट जोगाउन बेलाबखत खाल्डाखुल्डी पुर्ने गरेका छौँ”, उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालको भनाइ छ ।