लुम्बिनी

खानेपानी समस्या भोग्दै आएका उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना निर्माण

बेझाड। पूर्वखोला गाउँपालिका– १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको तामाखानीबाट गाउँमा पानी ल्याइएपछि सजिलोसँग उपभोग गर्न पाउँदा खुशी लागेको पुतलीदेवी हिस्कीले बताईन् । यहाँका करीब ९० घरपरिवारका स्थानीय उपभोक्ताले रु १५ लाख बराबरको श्रमदान गरेर आयोजना निर्माणको काम गरेको तामाखानी खानेपानी आयोजनाका अध्यक्ष दुर्गादेवी जर्घाले बताईन् । गोरखा वयर फर ट्रस्ट नेपालले रु २५ लाख रकम सहयोग गरेपछि सजिलोसँग आयोजना सम्पन्न भएको उनी बताउछिन् । आयोजनाको पानीलाई अहिले गाउँमा दश स्थानमा धारा जडान गरेर वितरण गरिएको छ । पछि एक घर एक धारा जडान गर्ने योजना रहेको समितिले जनाएको छ ।

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

माथागढी गाउँपालिकाले घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका २७२ जनालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा दिन गाउँपालिकाले घर घरमा कर्मचारी तथा जनप्रतिनिधि परिचालन गरेर परिचयपत्र वितरण गरेको अध्यक्ष सन्तोष थापामगरले बताए ।

“शारीरिक रुपमा अशक्त हुँदा उनीहरूलाई सहजरुपमा सेवा दिनु हाम्रो दायित्व हो, जीवन जीउनका लागि हौसला प्रदान हुनेछ भनेर घर घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छौँ”, उनले भने । गाउँपालिकाका आठवटै वडामा पुगेर ५१ रातो, १२७ नीलो, ५१ पहेँलो र ४३ सेतो कार्ड वितरण गरिएको छ । घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने माथागढी गाउँपालिका पहिलो हो ।