देश

उपचारको क्रममा साहित्यकार अप्सराको निधन

हेटौँडा। मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गरेकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष थिईन ।

उनको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । “लामो समयदेखि साहित्य क्षेत्रमा लागेकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा भईन”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भनिन् ।

उनको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।