पर्यटन/संस्कृति

थारुहरुले चलाएको टिपिकल होमस्टेमा पर्यटक खचाखच

भीमदत्तनगर । रानाथारु समुदायद्वारा सञ्चालित ‘रानाथारु सामुदायिक होमस्टे’ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ नयाँ बस्तीका रानाथारु समुदायले चलाएको उक्त होमस्टे (घरबास) २०७२ सालमा स्थापना गरिएको हो । तीन वर्षमा छ हजार ६०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले उक्त होमस्टेको भ्रमण गरिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशकै प्रख्यात पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र महाकाली नदीमा बनेको एशियाकै लामो झोलुङ्गे पुलको बीच भागमा रानाथारु होमस्टे सञ्चालनमा छ । गत आर्थिक वर्षमा मात्रै दुई हजारभन्दा बढी पर्यटकले होमस्टेको अवलोकन गरेको सो होमस्टेका सचिव चेतराम रानाले जानकारी दिए ।

“पर्यटकहरु यहाँ बास बसेर यस वरपरको पर्यटकीय क्षेत्र अवलोकन गरी भारतीय शहर घुम्न जाने गरेका छन्”, उनले भने । बाह्यभन्दा आन्तरिक पर्यटक समूहमा धेरै आउने गरेको उनी बताउछन् ।

तीन वर्षको अवधिमा होमस्टेमा रु २९ लाख ५१ हजारको कारोवार भएको छ । यहाँ आउने पर्यटक भारतको नैनीताल, अल्मोडा, देहरादुन, मन्सुरी, चण्डीगढ, सिमलालगायत पर्यटकीय शहर घुम्न जाने गरेका छन् । “यहाँ बास बसेर भारततर्फ घुम्न जाने गरेका छन्”, सचिव रानाले भने । कैलालीको भादा, बर्दियाको डल्ला, चितवनलगायत देशका अन्य क्षेत्रमा थारुचौधरीलगायत जातिले आफ्नो समुदायमा होमस्टे सञ्चालनमा ल्याएका छन् । कैलाली र कञ्चनपुरमा रानाथारु समुदायले होमस्टे सञ्चालन गरेको यहीँ मात्र हो ।

“कला संस्कृतिको संरक्षण एवं पर्यटन प्रवर्धनका लागि होमस्टे शुरु गरेका हौँ ”, रानाले भने । विभिन्न दातृ निकायको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा र कृष्णपुरमा चौधरी समुदायले होमस्टे सञ्चालन गरे पनि फष्टाउन सकेको छैन । शुक्लाफाँटा निकुञ्जसित जोडिएको राना होमस्टेमा गत वैशाख यता पर्यटकलाई राख्न नसकिएको सचिव रानाको भनाइ छ । “सात घर नयाँ बनाउँदैछौँ”, उनले भने, “असोजदेखि सञ्चालनमा ल्याउँछौँ ।”

तराई भू–परिधी कार्यक्रम (ताल) को प्राविधिक तथा अन्य सहयोगमा शुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिले आवश्यक सहयोग गर्दै आएको छ । होमस्टेमा आउने जोकोही पाहुनाले थारु समुदायको पहिरनसहितको परम्परागत नाच अवलोकन गर्न पाउनुका साथै विभिन्न थारु परिकार खान पाउने छन् । “पाहुनाको स्वागत गर्न होली नाँच, राजनी नाँचलगायत परम्परागत नाँच प्रस्तुत गछौँ”, उनले भने, “तितौला, सिमही, मिसौला, पपरा, कत्तरालगायत परिकार खुवाउँछौँ ।”

पर्यटक सूचना केन्द्र कार्यालय सहायकका भरमा

सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गड्डाचौकी भारतसित जोडिएको छ । नेपाल भित्रिने बाह्य पर्यटकलाई यहाँको बारेमा जानकारी दिने उद्देश्यले २०६१ सालमा गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो । पाँच वर्षदेखि उक्त कार्यालय सहायकका भरमा सञ्चालनमा छ । यहाँ थानेश्वर लेखक कार्यालयक सहायकका रुपमा काम गर्दै आएका छन् ।

“पर्यटन भ्रमण वर्षको चर्चा चुलिँदा पर्यटकलाई विभिन्न गन्तव्यका बारेमा सूचना दिने कार्यालय रित्तो छ, आवश्यक कर्मचारी नहुँदा अनेकन समस्या आउने गरेका छन्”, कार्यालय सहायक लेखकले पीडा सुनाए, “केन्द्रलाई कार्यालयमा हाकिम चाहियो, कर्मचारी अभाव छ भनेर पटक–पटक ताकेता गर्दै आए पनि सुनुवाइ भएको छैन ।” यहाँ पाँच वर्षदेखि कार्यालय प्रमुखविहीन छ । प्रमुख नहुँदा कार्यालयको नियमित कामकारवाही प्रभावित बनेको उनले बताए । “मैलै सक्दो प्रचारप्रसार गरकै छु, एक्लैले पर्यटकलाई सूचना दिन निकै गाह्रो छ”, लेखकले भने ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारीअनुसार सन् २०१८ मा यहाँबाट दुई हजार ९३० बाह्य पर्यटक नेपाल भित्रिएका थिए । दुई हजार २२२ बाह्य पर्यटक बाहिरिएको तथ्याङ्क छ । यहाँ भ्रमणमा आउनेमा अमेरिका, फ्रान्स, जर्मन, बेलायतलगायत देशका नागरिक रहेका छन् । अध्यागमन कार्यालयका निमित्त प्रमुख पदमराज भट्टले सन् २०१९ को जुलाइसम्ममा एक हजार पाँच सय ९८ बाह्य पर्यटक गड्डाचौकी भएर भित्रिएका छन् भने एक हजार दुई सय ८५ पर्यटक बाहिरिएका छन् । “यहाँ आउने बाह्य पर्यटक काठमाडौंँ, पोखरा र बर्दिया बढी घुम्न जाने गरेका छन्”, उनले भने ।