प्रदेश 1

लाखौँ ठगीको आरोपमा प्रेम सञ्जेलद्वारा थारु र काफ्ले पक्राउ

विराटनगर । राम्रो रोजगारीमा विदेश पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेहरुमा वैदेशिक रोजगारमा राम्रो तलब र सुविधा पाउने आश्वास देखाउने र रकम पाएपछि सम्पर्कविहीन भएर ठगी गरेको आरोपमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का राम थारू र सुनसरी बरहाक्षेत्र नगरपालिकास्थित प्रजापति काफ्ले पक्राउ परेका छन् ।

थारूलाई काठमाडौँको बानेश्वर र काफ्लेलाई सुनसरीको बरहाक्षेत्र–६ बसपार्कबाट प्रहरीले पक्राउ गरी आइतबार श्रम कार्यालय उपस्थिति गराएको वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका थारूले आकर्षक तलब हुने भन्दै विभिन्न देशमा पठाइ दिने भन्दै धरानका दुई जना युवाबाट रु १७ लाख ठगी गरेका छन् । निजले धरान–१५ का पिण्डेश्वरी चौकका प्रकाश तामाङ र सुरज श्रेष्ठलाई पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् ।

यस्तै काफ्ले विभिन्न १३ व्यक्तिलाई विभिन्न देशमा रोजगारीका पठाउने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा पक्राउ गरेको सञ्जेलले बताए ।