समाचार

आजको बैठकमा राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाडौँ। राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेउक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

यसअघि बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

सुशासन समितिको प्रतिवेदन पेश

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सुशासनसम्बन्धी अध्ययन प्रतिवेदन बैठकमा पेश गरिएको छ । बैठकमा समिति सभापति तारादेवी भट्टले गत चैत १० असार १ गतेसम्म सातै प्रदेशमा गरिएको अध्ययन प्रतिवेदन पेश गरेकी हुन् ।

प्रतिवेदन पेश गर्दै उनले सातै प्रदेशका विभिन्न स्थानमा दिगो विकास र सुशासनसम्बन्धी अन्तरक्रिया गरिएको बताईन् । समितिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना र गोरखाको बारपाकको स्थलगत अध्ययन गरी आवश्यक सुझाव तयार गरेको उल्लेख गरे ।

ध्यानाकर्षण प्रस्तावमाथि छलफल

बैठकमा नेपाली काँग्रेसका सांसदहरु प्रकाश पन्थ, जितेन्द्रनारायण देव, बद्री पाण्डे र अनिता देवकोटाद्वारा संयुक्त रुपमा दर्ता गरिएको अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक सुरक्षासम्बन्धी ध्यानाकर्षण प्रस्ताव सभामा छलफल गरिएको थियो ।

छलफलमा भाग लिँदै सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा सम्बन्धमा बनेका कानून र भएका व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रस्तावबारे उठेका जिज्ञासामाथि प्रस्ट पार्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अपाङ्गता भएका व्यक्तिलाई दिने मासिक भत्ता र सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन तथा वृद्धि गर्न र अन्य सुविधा बढाउने बारेमा छलफल भइरहेको उल्लेख गर्नुभयो । यस सम्बन्धी थप कानूनको प्रबन्ध गर्नुका साथै भएका कानून परिमार्जनसमेत गरिने उनको भनाइ थियो ।

मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्ने व्यक्तिलाई तालीमको व्यवस्था पनि गरेको र अपाङ्गता भएका व्यक्तिका परिवारलाई रोजगारसम्बन्धी तालीम दिन ठोस कार्यक्रम बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बाढी डुबान प्रभावित क्षेत्रको अध्ययनबारे जानकारी

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सबै दलबाट प्रतिनिधित्व हुने गरी सांसद भ्रमण टोलीले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तयार गरेको प्रतिवेदन जानकारी गराइएको थियो ।

अध्यक्ष तिमिल्सिनाले उद्धार, राहत र पुनस्र्थापनासम्बन्धी अल्पकालीन र दीर्घकालीन सुझाव समेटी तयार गरिएको प्रतिवेदनबारे बैठकमा जानकारी गराएका थिए ।

उनले प्रभावित क्षेत्रमा गर्नुपर्ने काम र सुझाव कार्यान्वयन गरी सो बारेमा सभामा जानकारी गराउन सरकारलाई निर्देशनसमेत दिए । टोलीले यही साउन ४ देखि ७ गतेसम्म प्रभावित १० जिल्लाका विभिन्न स्थानको स्थलगत भ्रमण गरी वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो १ बजे बस्नेछ ।