देश

बर्षाको पानी व्यवस्थापनका निम्ति जलाशययुक्त आयोजना अगाडि बढाइनेः मन्त्री पुन

काठमाडौं । सरकारले बर्षातको पानीजन्य प्रकोपलाई न्यूनीकरण गर्न र हिउँदमा हुने पानीको संकट टार्नका लागि बहुउद्देश्यीय प्रकृतिका जलाशययुक्त आयोजनाहरुलाई अगाडि बढाउने भएको छ ।

जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्री बर्षामान पुनले शनिवारदेखि राजधानीमा आरम्भ भएको “जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन” विषयक दुई दिवसीय सम्मेलनको समुद्घाटन गर्दै दिएका हुन् । उनले नेपाल बर्षाको पानीको उपलब्धताको हिसाबले धनी रहेको उल्लेख गर्दै भने, “ तर नेपालमा प्रकृतिले दिएको अमूल्य पानीको ८० प्रतिशत भाग ९० दिनमा परेर बगेर जान्छ । बाँकी ९ महिना हामी पानीको अभावमा गुज्रन बाध्य छौ ।”

मन्त्री पुनले बर्षाको पानीबाट हुने प्रकोपलाई कम गर्न र हिउँदको आवश्यकता पूरा गर्नकालागि सरकारले बहुउद्देश्यीय जलाशययुक्त आयोजनाहरुको निर्माणलाई प्राथमिकता दिएको बताउदै भने, काली गण्डकी, उत्तरगंगा, आँधी खोला जस्ता जलाशययुक्त आयोजनाहरुको विकासले बर्षाको पानी संकलन भई बाढी र डुबानको समस्या कम हुने, जलविद्युत उत्पादन गर्न सकिने, नदीमा हिउँदमा पनि पानीको प्रवाह हुन गई जलयातायात सञ्चालन गर्न सहज हुने र आवश्यक स्थानमा हिँउदमा पनि सिंचाईको सुविधा पुर्‍याउन सकिने जस्ता बहुपक्षीय लाभ हुनेछन् ।”

मन्त्री पुनले राजधानीमा देखिएको भूमिगते पानीको सतह घट्ने समस्यालाई निराकरण गर्न बाग्मतीको जलाधार क्षेत्रमा धाप र नाग्मतिमा बाँध बाधेर जलाशय निर्माण गरी बाग्मतिमा निरन्तर पानीको प्रवाह कायम गर्न लागिएको र दांग उपत्यकामा देखिएको पानीको समस्यालाई सम्बोधन गर्न नौमुरे बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत आयोजना विकास गर्ने योजना रहेको पनि बताए ।
उनले सरकारले देशभरका नदीहरुको वेसिन अध्ययन गरिरहेको उल्लेख गर्दै भने, हामीले ६ हजार नदी नाला भन्ने मान्दै आएका थियौ तर नेपालमा नदी, खोला र नालाहरुको संख्या २३ हजार रहेछ । यी खोला नालाको जलाधार क्षेत्रमा पोखरी र चेक ड्याम बनाउन सकियो भने नेपालमा पानीको अभाव हुँदैन । पानीका स्रोतहरु पुनर्भरण हुनेछन् ।”

कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले देशमा खानेपानीको माग र आपूर्तिमा ठूलो अन्तर देखिएको र हिउँदमा देखिने खानेपानीको संकट टार्नको लागि बर्षातको पानीको संकलन उपयुक्त उपाय भएको पनि बताए । उनले उचित प्रविधिको विकास र अबलम्बनले बर्षातको पानीको उपयोग सहज बनाउन सकिने बताए । नेपालका ग्रामीण भेगका छरिएका बस्तीको कारण सरकारी सेवा पुर्याउन समस्या रहेको बताउदै केही स्थानको बस्ती पायकपर्ने उपयुक्त स्थानमा सार्नुपर्ने बताए ।

कार्यक्रममा धुलिनखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले धुलिखेल नगरपालिकालाई खानेपानीमा आत्मनिर्भर बनाउन प्रयासहरु सुरु भएको बताउदै आकाशे पानी संकलन गर्ने घरघनीलाई सम्पत्ति करमा १५ प्रतिशत छुट दिने नीति लिएको पनि बताए ।

कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले आकाशे पानी संकलनमा परम्परागत ज्ञान रहेको बताउदै तिनको पुनर्जागरण गर्नुपर्ने खाँचो औल्याउनुभयो । उनले प्रकृतिले सित्तैमा सबैलाई दिएको पानीको संकलन र व्यवस्थापन गर्नकालागि कानूनी ढाँचा र उपयुक्त प्रविधिको विकासमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका अर्का वक्ता एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनीले नेपालमा पानीको विषय राजनीतिक तहमा अझै एजेण्डा बन्न नसकेको उल्लेख गर्दै भने, “नेपालले एकीकृत पानी व्यवस्थापनका बारेमा सोच्नुपर्ने समय आएको छ ।” उनले पानीको समस्या समाधानका बारेमा विश्वमा भैरहेका असल अभ्यासहरुबाट नेपालले सिक्नपर्ने बताउदै भने, “पानी, ऊर्जा र सामग्रीहरुको बारेमा धेरै काम गरेको छ, संसारभर धेरै प्रयोग भएका छन् । हामीलाई सुहाउदो प्रविधि अबलम्बन गर्ने तथा विकास गर्ने कार्यले यो समस्याको समाधान गर्न सकिन्छ ।”

खानेपानीको व्यवस्थापन ठूलो चुनौतिको रुपमा रहेको देखेर एशियन वाटर काउन्सिलको स्थापना गरिएको र कोरियाको अग्रसरतामा खानेपानीको व्यवस्थापनका असल अभ्यासहरु नेपालमा पनि सुरु भएको बताए ।
कार्यक्रममा इचोन नेशनल युनिभर्सिटी कोरियाका प्राध्यापक तथा के वाटरका पूर्व कार्यकारी प्रमुख ग्ये, वोन चोले खानेपानीको आपूर्ति अत्यन्त महत्वपूर्ण विषय भएकोले कोरियामा स्वच्छ र शुद्ध खानेपानी सबैको पहुँचमा पुर्याउन प्रयोग भएको स्मार्ट प्रविधि नेपालमा पनि परीक्षणको रुपमा म्याग्दीको बेनी नगरपालिकामा शुरु गरिएको बताए । उनले काठमाडौं र सिउल महानगरहरुको अवस्था तुलना गर्दै कोरियाको अनुभव काठमाडौंको लागि पनि उपयोगी हुने बताए ।

कार्यक्रममा भारतीय राजदूतावासका डा.अजयले राजदूतावासभित्रका भवनहरुबाट आकाशे पानी संकलन गरी ६ वटा पुनर्भरण प्रणाली स्थापना गरि पानीको स्थानीय स्रोत जोगाउन योगदान पुर्याएको बताए ।
स्मार्ट वास सोलुशनका अध्यक्ष ई रामदीप साहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले नेपालमा खानेपानी सुविधाको वर्तमान अवस्था र बर्षातको पानीको सदुपयोगको आवश्यकताका विषयमा विशेष मन्तव्य दिएको थिए ।

समुद्घाटन कार्यक्रममा मन्त्री पुनले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रहरुको संक्षिप्त पुस्तिका लोकार्पण गरेको थिए ।
कार्यक्रममा स्मार्ट वास सोलुशनका अध्यक्ष ई. साहले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पादै स्वागत मन्तव्य दिएका थिए ।
कान्तिपथस्थित होटल एल्लो प्योगोडामा भैरहेका दुइदिवसीय सम्मेलनमा बर्षाको पानी संकलन प्रविधिको प्रदर्शनीकक्ष पनि राखिएको छ ।