बाग्मती

कलेजका विद्यार्थी भन्छन्ः हिलो बाटोको कारण जुत्ता र कपडा हेरिसक्नु हुँदैन

काठमाडौँ । चाबहिलबाट सरस्वती नगर हुँदै कपन पुग्ने सडकको अवस्था निकै दयनीय छ । सडकमा ठूल्ठूला खाल्डा, घुडाँसम्म आउने हिलो र खाल्डामा पानी जमेकोे छ ।

सडकमा खाल्डाखुल्डीका साथै हिलाम्मे भएपछि सजिलै सडक वारपार गर्न सक्ने त अवस्था छैन । ठूल्ठूला खाल्डाले विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै सकस हुने गरेको छ ।

ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ । पानी र हिलोले पुरेको खाल्डोे थाहा नपाउँदा धेरैपटक साना केटाकेटी, वृद्धवृद्धा तथा युवासमेत खाल्डोमा चुर्लुम्म डुब्ने गरेका छन् ।

यहाँको सडक हुँदै मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई त निकै समस्या छ । चाबहिल गोपिकृष्ण हल नजिक रहेको रिलायन्स क्याम्पसको कक्षा ११ मा पढ्ने नवीनप्रकाश कोइराला भन्छन्, “बिहान घरबाट आउँदा लगाएको जुत्ता र कपडा हेरिसक्नु हुँदैन, कपन दुर्गा मन्दिरबाट क्याम्पससम्म पुग्दा कहिले हिलोमा गाडिने त कहिले मोटरसाइकल र गाडीले हिलो छ्याप्ने गरेर हैरान भएको उनको गुनासो थियोे ।

कपनको भृकुटी चोक, मिलनचोक, साततले, कपन प्रहरी प्रभाग, आकाशे धारा हुँदै बालुवाखानी पुग्ने सडकको अवस्था पनि नाजुक छ । लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लो बाटोले यहाँका बासिन्दा आक्रान्त छन् ।

कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशे धारा पुग्ने सडकको अवस्थाका कारण स्थानीयबासी आजीत बनेका छन् । हिलोले तरकारी व्यवसायमा पनि असर पारेको समबद्ध व्यापारीको गुनासो थियो ।

त्यस्तै मिलनचोक हुँदै साततले जाने सडको अवस्था अन्य सडकको भन्दा फरक छैन । ठेकेदारले ढलको काम समयमा नसकेको र कालोपत्र नभएकाले स्थानीयवासी मारमा परेका हुन् । आकाशे धारादेखि बालुवाखानी हुँदै बसपार्कसम्मको सडक रु २० करोडको लागतमा तीन वर्षभित्र निर्माण गर्न विसं २०७३ जेठ ३ गते दिवा।शैलुङ जेभी कम्पनीले ठेक्का पाएको थियो तर करीब तीन किलोमिटर सडक निर्माण गर्नुपर्ने निर्धारित मितिभन्दा एक वर्ष बितिसक्दासमेत सडकको अवस्था जस्ताको त्यस्तै छ ।

आकाशेधारा–राममन्दिर सडकको अवस्था पनि उस्तै छ । हिलोले सवारी साधन पनि चल्न नसक्दा निकै सास्ती खेप्नुपरेकाले तत्काल सडक कालोपत्र गरी सुविधा दिनुपर्ने स्थानीयवासीको माग छ ।

रु छ करोड ५५ लाखको लागतमा सो सडक निर्माणका लागि विसं २०७३ असार ३१ गते शैलुङ कन्सट्रक्सन प्रालिले ठेक्का पाएकामा तोकिएको मितिभन्दा करीब दुई वर्ष बितिसक्दासमेत सडक स्तरोन्ति हुन सकेको छैन ।

त्यस्तै आकाशे धारादेखि आनिगुम्बा सडक निर्माणका लागि विसं २०७५ साउन १६ गते मृतसञ्जीवनी/वाइबा एण्ड लामा जेभी नामको ठेकेदार कम्पन्नीले रु ६ करोड ३८ लाखमा निर्माण गर्ने ठेक्का पाएको थियो। विसं २०७६ साउन १५ गतेभित्र निर्माण गरिसक्नुपर्ने सो सडकको अवस्था अहिले पनि उस्तै छ ।

यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपर्दा पनि ठेकेदार कम्पन्नीले भने पानी लगायतको कारण देखाउँदै सडक निर्माणमा विलम्ब भएको भन्दै पन्छिने गरेका छन् ।