प्रदेश 1

लगातारको वर्षापछि पहिरोबाट सन्दकपुरका १२ परिवार विस्थापित

पशुपतिनगर। लगातारको वर्षापछि इलामको सन्दकपुर गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर–५ को गहिरगाउँका घरभित्र चिरा परेपछि १२ घर विस्थापित भएका हुन् ।

सिङ्गो गाउँ नै पहिरोले तानेको र स्थानीयवासीका घरभित्र चिरा परी पानी उम्रिएपछि विस्थापित भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। पहिरोबाट सन्दकपुर–५ का पूर्णबहादुर गुरुङ, जीतकुमारी गुरुङ, लाखमान तामाङ, माया गुरुङ, रमेश गुरुङ, सूर्यबहादुर गुरुङ, नीरबहादुर गुरुङ, रामबहादुर गुरुङ, धर्मध्वज गुरुङ, नेत्रबहादुर गुरुङ, यामबहादुर गुरुङ र बेदबहादुर कार्कीको घरभित्र चिरा परेकाले शनिबार राहत रकम र सामग्री वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित विभिन्न संस्थाले पीडितलाई नगदसहित बन्दोबस्तीका सामग्री शनिबार हस्तान्तरण गरेका छन् । विस्थापित १२ घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही पाँच हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

यस्तै रेडक्रसले त्रिपाल, कपडा, भाडावर्तन, बाल्टी र डोरी वितरण गरेको छ । जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तिमल्सिना, सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हीरा पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्का र रेडक्रसका प्रतिनिधिलगायतको उपस्थितिमा विस्थापितको अवस्था र पहिरो क्षेत्रको अनुगमन गरिएको थियो ।