गण्डकी प्रदेश

लोकदोहोरी- अनुजको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति

लमजुङ। लोकदोहोरी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत पाँच जना कलाकारलाई यहाँ सम्मान गरिएको छ ।

शनिबार बेँसीशहरमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा लमजुङको सातौँ अधिवेशन, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा माया गुरुङ, विमाकुमारी दुरा, अनुज अधिकारी, प्रशान्त तामाङ र प्रिती गिरी रहेका छन् । प्रतिष्ठान केन्द्रीय प्रथम उपाध्यक्ष तथा गायक पशुपति शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रद्वारा सम्मान गरियो ।

सो अवसरमा उपाध्यक्ष शर्माले कलाकारिता क्षेत्रको विकास, विस्तार र उन्नयनमा सम्बन्धीत सबै पक्ष इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख अर्यालले कलाकारले गीतमार्फत समाजलाई परिवर्तन गर्नसक्ने भएकाले सोही अनुरुपको गीत गाउनुपर्ने बताउँदै कलाकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सहयोग गर्ने धारणा व्यक्त गरे ।

यसैगरी प्रतिष्ठानको सातौँ अधिवेशनले अनुज अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा टसबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, प्रथम महिला उपाध्यक्षमा प्रिती गिरी, सचिव प्रशान्त तामाङ, कोषाध्यक्ष पूजा गुरुङ, सहसचिव सबिन गुरुङ र सहकोषाध्यक्षमा लक्ष्मी तामाङ सर्वसम्मत रुपले चयन भएको प्रतिष्ठानले जनाएको छ ।