लुम्बिनी

बालमैत्री अभियानमा क्रियाशील बन्दै बालबालिका

बाँके। बालमैत्री गाउँपालिका निर्माणमा खजुरामा तदारुकता देखाइएको छ । बालमैत्री अभियानमा अग्रसर गाउँपालिकाले नीति तथा कार्यक्रमका साथै बजेट विनियोजन गर्दै अभियानलाई अघि बढाइरहेको छ । खजुरा गाउँपालिकाले लिएको बालमैत्री अभियानलाई साथ र सहयोग भने गाउँपालिकामा रहेका बाल क्लब तथा किशोरी क्लबहरुले साथ दिइरहेका छन् ।

उनीहरु यतिमात्र नभई बाल क्लब, किशोरी क्लब गठन, पुनःगठन र विस्तार गर्दै बालमैत्री गाउँपालिकामा परिणत गराउन कसरतमा जुटेका छन् । गाउँपालिकाका विभिन्न वडा, समुदाय तथा विद्यालयस्तरमा गठित बाल क्लब र किशोरी क्लबमा आबद्ध बालबालिकाले बालबालिकासम्बन्धी व्याप्त समस्या, चुनौतीलाई न्यूनीकरण गर्न समूह छलफलसँगै सम्बद्ध सरोकारवालालाई झक्झकाउनेसमेत गरेका छन् ।

गाउँपालिकाले बामलमैत्री अवधारणालाई अवलम्बन गरेपश्चात बाल क्लबहरूले बालबालिकाको क्षेत्रमा क्रियाशील भई कार्यक्रम सञ्चालन गर्न थालेपछि परिवर्तन आएको छ । बिहान विद्यालय पुग्ने र बेलुकी घर फर्किने बालबालिका पछिल्लो समयमा बालमैत्री अभियानमा क्रियाशील बन्न थालेका छन् ।

बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, सार्वजनिक सवालमा सरोकारवालालाई झक्झक्याउनेदेखि टोल, विद्यालय सरसरफाइलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट बालबालिकाबीच अन्तरक्रिया, ज्ञान, सीप र सूचना प्रवाह हुनुका साथै उनीहरुको व्यवहारमा समेत परिर्वतन आएको छ ।

गाउँमा हुने बालविवाह, बालश्रम, बाल दुव्र्यवहारका घटना तथा विद्यालय जानबाट बञ्चित बालबालिकाका सवाल क्लबका बालबालिकाहरुले सल्लाह र परामर्श दिँदै समस्या समाधानका बाटोहरु पहिल्याउने गरेका छन् । बालबालिकाका सवालमा स्वयम् बालबालिका नै क्रियाशील भएर अघि बढ्दा यसले सकारात्मक सन्देश दिएको सम्बद्ध सरोकारवालाहरुको बुझाइ छ ।

बालमैत्रीउन्मुख गाउँपालिकाले यसअघि बालमैत्री अवधारणाअनुरुप विभिन्न सूचकहरुसमेत पूरा गरेको छ । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार खजुरालाई बालमैत्री बनाउनका लागि नीति तथा बजेट विनियोजन गर्दै कार्यक्रम अघि सारेको बताए । उनले भने “हामीले बाल संरक्षण नीति निर्माण गरी बालसंरक्षण कोष खडा गर्नुका साथै बाल क्लब, सञ्जाल गठन, विस्तार र सञ्चालन कार्यविधि बनाइसकेका छौँ ।”

पछिल्लो समयमा बाल क्लब र किशोरी क्लबमार्फत चालिएका अभियानले गाउँपालिकामा सकारात्मक प्रभाव परेको भन्दै थप कार्यक्रम गर्न हौसला पाएको अध्यक्ष कक्षपतिले बताए । “हामी जिल्लाको पहिलो बालमैत्री गाउँपालिकाका रूपमा परिणत गर्न तल्लीन छौँ, त्यही अनुरुप बजेट तथा कार्यक्रमहरु विनियोजन गरी बालबालिकाको अर्थपूर्ण सहभागितामा अघि बढिरहेको छ”, कक्षपतिले भने ।

उनका अनुसार गाउँपालिकाका केही वडामा अझ पनि बालबालिकाका समस्या र चुनौती छन्, ती समस्याहरु समाधान गर्न सजग र सचेत बनाइएको छ । बालमैत्री गाउँपालिका निर्माणको नीति अवलम्बन गरेसँगै खजुरा पूर्ण खोप तथा साक्षर गाउँपालिका घोषणा भइसकेको छ । बालमैत्री गाउँपालिका निमार्णका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष कक्षपतिले बालबालिकाका सवालमा बालबालिकाद्वारा गरिने गतिविधि बढी प्रभावकारी हुने बताए ।

यसै आर्थिक वर्षमा बालमैत्री अभियानका अधिकांश सूचक पूरा गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी भइरहेको छ । सोहीअनुसार गाउँपालिकाका सबै वडालाई निर्देशन दिइएको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले भने, “बालमैत्री गाउँपालिका निर्माणका लागि सबैको साथ र सहयोग अपिहार्य छ ।”

यस्तै गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बालमैत्री अभियान अवलम्बन गरी चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको बताए । उनले भने, “बालमैत्री अभियनालाई ध्यानमा राखेर चालू आर्थिक वर्षमा गाउँपालिकाले रु १२ लाख बालबालिकाका लागि विनियोजित गरेको छ ।” ज्ञानोदय उमावि स्रोत केन्द्रका स्रोतव्यक्ति टङ्कनाथ दाहालले गाउँपालिकामा पछिल्लो समय शैक्षिक गुणस्तर बढेको बताउनुभयो । उनले भने, “शैक्षिक गुणस्तर मात्र नभई विद्यालयमा विद्यालय जाने उमेरका बालबालिकाको बढोत्तरीसँगै बीचमै कक्षा छाड्नेको सङ्ख्यामा कमी आएर विद्यार्थी टिकाउदर बढेको छ ।”

अभिभावकमा शिक्षाप्रति आएको सचेतनासँगै बाल क्लब र किशोरी क्लबमार्फत बालबालिकाले चलाएका प्रवद्र्धनात्मक अभियानले थप सहयोगी भूमिका दिएको उनको बुझाइ छ । स्रोतव्यक्ति दाहालका अनुसार गाउँपालिकामा बालविवाह, यौनजन्य हिंसालगायतका केही जटिल समस्या रहेको भए पनि यसतर्फ गाउँपालिका र सम्बद्ध वडा कार्यालयहरु सचेत बन्दै आएका छन् ।