बाग्मती

अण्डा उत्पादक सङ्घको अध्यक्षमा पुनः केसी

मुग्लिन। नेपाल अण्डा उत्पादक सङ्घको केन्द्रीय अध्यक्षमा पुनः शिवराम केसी विजयी हुनुका छन् । सङ्घको शनिबार भएको विशेष अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी रघुनाथ भट्टलाई २१४ फराकिलो मतान्तरले पछि पार्दै केसी विजयी भएका हुन् ।

कूल ५९० मत खसेकामा केसीले ३९७ र भट्टले १८३ मत प्राप्त गरेको निर्वाचन संयोजक दिवाकर पौडेलले जानकारी दिए । तीन मत बदर भएको थियो । यस्तै सदस्यहरुमा किरणभुषण ओली, प्रवीण केसी, विनोद अधिकारी, भरत कार्की, राजकुमार श्रेष्ठ र ललितबहादुर जिसी विजयी भए ।

यसैबीच आज नै नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन व्यवस्थापन समितिका संयोजक भेषराज दुवाडीले शपथग्रहण गराए । सोही अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष केसीले सबै एकजुट भएर सङ्घलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता जनाए ।

केसीको सङ्घमा यो तेस्रो कार्यकाल हो । गत जेठ २४ गते भएको सङ्घको १५औँ साधारणसभाबाट सङ्घमा विवाद चुलिएर समानान्तर समिति बनेपछि चितवन प्रशासनले सङ्घको नयाँ अधिवेशन तोकेको थियो ।

यसअघि सङ्घका अध्यक्ष त्रिलोचन कँडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरी बहुमत सदस्यले शिवराम केसीलाई अध्यक्ष बनाएका थिए । त्यसपछि दुवै अध्यक्षहरुले आफू नै अध्यक्ष रहेको दाबी गर्दै हिँडेपछि जिल्ला प्रशासन कार्यालयले विवाद समाधान गर्न पहल गर्दै विशेष अधिवेशन बोलाएको हो ।

सोहीअनुसार सङ्घको केन्द्रीय विशेष अधिवेशन सम्पन्न भएको हो । चुनावमा ८४ प्रतिशत मत खसेको थियो । एक अध्यक्ष र छ सदस्यका लागि भएको निर्वाचनमा १४ जनाको उम्मेदवारी परेको थियो ।