बाग्मती

ट्रकको पछाडि बस ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

चितवन । इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् ।

उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । गौरबाट भैँसी लिएर काठमाडौँतर्फ जाँदै गरेको ना७ख २५६१ नंको ट्रकलाई काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना५ख ४८१९ नंको बसले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना बिहान ४ः४५ बजे भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । सबैको अवस्था मध्यम रहेको छ । ट्रक र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।