प्रदेश 1

ओखलढुङ्गा एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

सुरुङगा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ । ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिएका छन ।

साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको उनको भनाइ छ । “अधिकांश एकल महिलाको समाजमा बिजोग भएको स्थिति देखेको छु”, अध्यक्ष अधिकारीले भने “वर्षमा पाँच हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ ।

एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ ।” अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एकल महिला खुशी

उपचार खर्च दिने गाउँपालिकाको नीतिले सुनकोशीका एकल महिला खुशी भएका छन् । गाउँघरमा एकल महिलालाई हेर्ने दृष्टिकोण राम्रो नभएको अवस्थामा स्थानीय सरकारको यो कदम स्वागतयोग्य रहेको बलखुकी ३२ वर्षीया अरुणा राईले बताए ।

भोट माग्न आउँदा तपाईंहरुका लागि पनि केही गर्छौैं, भन्थे नेताहरुले राम्रो कामको शुरुआत गरेकामा हामी खुसी छौँ”, राईले भने । सामान्य रोग लाग्दा पनि खर्च अभावका कारण घरैमा बस्नुपर्ने बाध्यता हट्ने उनको बुझाइ छ । एकल महिलाका क्षेत्रमा क्रियाशील स्थानीय अगुवा मुना श्रेष्ठले स्थानीय सरकारको यो नीतिले एकल महिलालाई समाजमा स्थापित गराउन मद्दत पुग्ने बताए ।

एकल महिलालाई उपचार खर्च दिने नीति लिएसँगै वडामार्फत एकल महिलाको तथ्याङ्क र अवस्थाका बारेमा विवरण सङ्कलनको काम थालिएको सुनकोशी गाउँपालिकाको कार्यालय मूलखर्कले जनाएको छ ।