प्रदेश 1

थाइल्याण्डका नागरिकद्वारा बालबालिकालाई साइकल प्रदान

सुरुङ्गा । अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा, गङ्गा आमा, खुदुनावारी होम मदर अर्थ चिल्ड्रेन होम डे केयरका बालबालिकालाई साइकल प्रदान गरिएको छ ।

बन्दी सहायता नेपालद्वारा सञ्चालित जुनकिरी प्रावि तथा चिल्ड्रेन होम केयरका बालबालिकालाई साइकलसँगै शैक्षिक सामग्री र खाद्यान्नसमेत प्रदान गरिएको हो ।

थाइल्याण्ड साइकल क्लबको सहयोगमा साइकल तथा प्रदेश नं १ सरकारको सहयोगमा खाद्यान्न साथै स्कूल ब्याग आज आयोजित एक कार्यक्रमकाबीच प्रदान गरियो । थाइल्याण्डका नागरिक तथा वातावरणविद् डा थाङचोइ एनसाउतले २८ साइकल थाइल्याण्ड साइकल क्लबका तर्फबाट उपलब्ध गराएपछि झापा क्षेत्र नं २ का प्रदेशसभा सदस्य बृख प्रधानको प्रमुख आतिथ्यमा बालबालिकालाई वितरण गरिएको थियो ।

सो अवसरमा प्रदेश नं १ सरकारका तर्फबाट प्राप्त रु सात लाख रकमबाट रु दुई लाख ५० हजार मूल्य बराबरको कम्प्युटर र रु चार लाख ५० हजारको बालबालिकालाई विद्यालय शूल्क, पोशाक र ब्यागलगायतका सामग्रीसमेत प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले बताए ।

साइकल क्लबले बन्दी सहायता क्लबद्वारा सञ्चालित झापा, इलामलगायत विभिन्न ठाउँका विद्यालयमा अध्ययनरत बालबालिकालाई तराई क्षेत्र र पहाडका लागि बेग्लाबेग्लै प्रकृतिका १४।१४ साइकल प्रदान गरेको बन्दी सहायता नेपालकी आमा इन्दिरा रानामगरले बताईन् ।

सो अवसरमा बन्दी सहायता केन्द्रमा रहेका बालबालिकालाई सहयोग गर्ने दातालाई सम्मानसमेत गरिएको थियो ।