प्रदेश 1

पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण

भोजपुर । जिल्ला समन्वय समिति भोजपुरले पहिरोबाट ज्यान गुमाएका तीन परिवारलाई राहत वितरण गरेको छ । समन्वय समितिका प्रमुख, उपप्रमुख तथा सदस्यहरुले आफ्नो १५ दिनको सेवासुविधा कटाएर मृतकका परिवार राहत दिएका हुन् ।

उनीहरुले सङ्कलन गरेको रु ७७ हजार ९४० प्रतिमृतक रु १५ हजार ५८८ का दरले आज वितरण गरिएको छ । सेवासुविधावापत समन्वय समिति प्रमुखबाट रु १७ हजार, उपप्रमुखबाट रु १२ हजार ५०० र प्रतिसदस्य रु छ हजार ९२० का दरले सङ्कलन गरी एकै परिवारका तीनसहित पाँच मृतकका परिवारलाई राहत रकम वितरण गरेको जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।

पहिरोमा परी गत असार २८ गते टेम्केमैयुङ गाउँपालिका वडा नं ९ लेखर्क ओइराङका १४ वर्षीय बालक जनक विक, रामप्रसाद राई गाउँपालिका वडा नं ७ बासीखोराका ६६ वर्षीय जगतबहादुर राई र रामप्रसाद राई गाउँँपालिका वडा नं ५ मानेभञ्ज्याङका स्थानीय कुमार राईकी ३५ वर्षीया श्रीमती मनकुमारी राई, १७ वर्षीय छोरा शिवकुमार राई, १५ वर्षीय छोरा शक्तिकुमार राईको ज्यान गएको थियो ।