समाचार

ट्रष्ट कानून र नियमका आधारमा चल्ने भएकाले सम्पत्ति कसैले हडप्न पाउँदैनः उपप्रधानमन्त्री पोख्रेल

काठमाण्डौ । गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ । ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको आज स्थलगत अनुगमन गर्नु भई केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

“यहाँ आइपरेका समस्या समाधानका लागि नगरपालिका र ट्रष्टको कार्यालयबीच १० दिनमै काम हुन्छ, पहिले समाधान हुन नसकेको पुनरावृत्ति अब हुने छैन, तत्कालका लागि आवश्यक पर्ने काम छिटो गरी समस्या समाधान हुनेछ”, उनले भने । ट्रष्टको सम्पत्ति रक्षा गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता पनि उपप्रधानमन्त्री पोखरेलले सञ्चारकर्मीसँगको प्रतिक्रियामा जानकारी दिए । ट्रष्ट कानून र नियमका आधारमा चल्ने भएकाले सम्पत्ति कसैले हडप्न नपाउने पनि उनले बताए ।

राज निकुञ्जका नाममा चिनिने गोकर्ण रिसोर्ट रहेको करीब चार हजार रोपनी क्षेत्रफललाई घेरेर बनाइएको पर्खाल भत्कँदा दुई साता अघिको भारी वर्षाका कारण माकालबारीको बस्ती डुबानमा परेको थियो । ट्रष्टको जग्गाको निकास माकालबारीमा बनेकाले बास उठ्न लागेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

अवलोकनका क्रममाा सङ्घीय सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सदस्य जयराम महतलगायत जनप्रतिनिधि पनि सहभागी थिए ।

नगर प्रमुख चालिसेले ट्रष्टको अध्यक्षता गर्नेमन्त्रीले छ पटक अवलोकन भ्रमण गर्दा पनि नगरवासीले भोग्नुपरेको समस्या समाधान हुन नसकेको बताए । यसपटक समस्या समाधान भई नगरवासीले दुःख भोग्नु नपर्ने आशा गरिएको थिए उपप्रधानमन्त्री पोखरेललाई सुनाए ।

गोकर्णेश्वर मन्दिरअघिबाट ट्रष्टको जग्गाको छेउहुँदै दक्षिणढोका निस्कने सडक खुला गर्न पनि नगरपालिकाले माग गर्दै आएको छ । यो सडक सार्वजनिक सवारी साधन सञ्चालनका लागि खोलिदिए गोकर्णेश्वर मन्दिरबाट भगवती स्थान हुँदै जोरपाटी निस्कने सडक जाम नहुने जनप्रतिनिधिको भनाइ छ ।

वरिपरिबाट ट्रष्टको जग्गा घेरिएको पर्खाल भत्किएर मानिस छिर्न सक्ने भए पनि बनाउन ध्यान नदिँदा काठपातलगायत चीजबीज चोरी भइरहेको छ । यहीँभित्र रहेको स्थानीयवासीको आस्थाको केन्द्र वनदेवी मन्दिर प्रवेश गर्नसमेत नेपाली सेनाले बन्देज लगाउँदै आएको छ ।

मन्दिरसम्म निर्वाधरुपमा जान पाउनुपर्ने मागसमेत गरिएको नगरपालिका धार्मिक समितिका संयोजक दिवाकर भण्डारीले बताउनुभयो । पूर्वराजपरिवारका सदस्यको नाममा रहेको यो जग्गा विसं २०६२/२०६३ को आन्दोलनपछि नेपाल ट्रष्टको कार्यालयका नाममा नामसारी भएको थियो ।