बाग्मती

सुनकोशी गाउँपालिकाले सरकारी सार्वजनिक जग्गा अतिक्रमण रोक्ने

मेलम्ची । घाट नै कब्जा गरिएको भन्दै स्थानीयवासीले निवेदन दिएपछि सुनकोशी गाउँपालिका–७ स्थित सुनकोशी नदी किनारको जग्गा नापी गरेर कित्ताकाट गरिएको छ ।

वडा कार्यालयले सरकारी अमिनी झिकाएर शुक्रबार जग्गा नापी गराउँदा अधिकांश जग्गा सार्वजनिक नै देखिएको छ । व्यक्तिका जग्गा कित्ताकाट गरेर आज सार्वजनिक जग्गामा किला ठोकिएको छ । २ गते साँझ सुनकोशी गाउँपालिका–७ स्थित खाडीचौरमा घाटमै विवाद भयो । सुनकोशी किनारमा टहरो बनाइ बसेकी जुनुमाया तामाङ र मृतक सूर्यबहादुर खड्काको अन्त्येष्टिका लागि घाट आएका मलामीबीच शव जलाउने विषयमा विवाद भयो । आफ्ना घर अगाडि शव जलाइएको भन्दै जुनुमाया गालीगलौजमा उत्रिइन तर घाटकै जग्गा अतिक्रमण गरेको भन्दै मलामी प्रतिवादमा उत्रिए ।

घाटको विषयमा विवाद भएपछि हिजो सुनकोशी किनारमा रहेको सार्वजनिक जग्गा नापी गरिएको छ । सुनकोसी–७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाको अगुवाइमा बगर (घाट)को जग्गा नापी भएपछि सार्वजनिक जग्गा नै व्यक्तिले अतिक्रमण गरेको खुल्न आएको छ । “घाटका विषयमा विवाद भएछ, वडावासीले घाट संरक्षणका लागि हामीलाई अनुरोध गरे”, वडाध्यक्ष तिमल्सिनाले भने, “अमिन झिकाएर नापी गर्दा व्यक्तिले उपभोग गर्दै आएको जग्गा सार्वजनिक नै देखियो ।” नापी गर्दा विवादित जग्गा सबै सार्वजनिक नै रहेको उनले बताए ।

वडाभित्रका सार्वजनिक जग्गाको खोजी गर्दै संरक्षण गरिने वडाध्यक्ष तिमल्सिनाले बताए । अरु धेरै ठाउँमा सरकारी जग्गा अतिक्रमण भइरहेको सुन्नमा आएको छ, अब हामी वडाभित्रका सरकारी सार्वजनिक जग्गा अतिक्रमण रोक्ने उनले बताए ।