प्रदेश 2

जग्गाधनी प्रमाणपुर्जा पाउँदा बयलवासबासी दङ्ग

बर्दिवास । “अबो त हामी पनि लालपुर्जावाला भयो”, हातमा भर्खरै पाएको जग्गाधनी प्रमाणपुर्जा लिएकी महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमाराको बयलवास बस्तीकी ६० वर्षीया कालीमाया मोक्तानले यस्तै नेपाली बोलीमा खुशी प्रकट गरे । आफ्नो र पति सुकमान मोक्तानको संयुक्त नामको जग्गाधनी प्रमाणपुर्जा पाउँदा संसारको ठूलै कुरा जितेको कालीमाया बताउँछन् ।

“हेर्नु हजुर, छोरा यहीँ जन्मियो, अहिले घरभरि नातिनातिना छन्, तर, आफ्नो घरजग्गाको लालपुर्जा नहुँदा ४० वर्ष पिरमै बित्यो”, कालीमायाले मनको बह पोख्दै भने, “बल्ल घरजग्गा आफ्नो भएजस्तो लाग्यो ।” कालीमायासहितका सो बस्तीका ६१ परिवारले आज घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा पाएपछि खुशी जनाएका छन् ।

भूमि अधिकार मञ्चको समन्वयमा नापी कार्यालय महोत्तरी जलेश्वरले बस्तीमै आयोजना गरेको जग्गाधनी प्रमाणपुर्जा वितरण समारोहमा प्रदेशसभा–२ का सदस्य शारदा थापा, बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्की र नापी कार्यालय जलेश्वरका निमित्त प्रमुख कमलेशचन्द्र लालले ६१ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरेका हुन् । पति।पत्नी रहेका परिवारमा दुवैको संयुक्त नाममा जग्गाधनी प्रमाणपुर्जा बनाइएको छ ।

बयलवास बस्तीमा ४० वर्षदेखि बसोबास गर्दै आएका ६१ परिवारमा आज जग्गाधनी प्रमाणपुर्जा पाएको खुशीमा दङ्ग परेका छन् । “घरजग्गाबाहेक अन्त केही नहुँदा हाम्रो के छ र भन्ने हुन्थ्यो” बस्तीकी दलित महिला ६५ वर्षीया कपीयादेवी महराले भने, “अब लालपुर्जा पाएपछि घरको मुहडा नै उज्यालो भएजस्तो लागेको छ ।”

आफ्नै आँगनमा आएर सम्बन्धित निकायले जग्गाधनी प्रमाणपुर्जा दिएपछि बस्तीका सुकुम्वासीले बल्ल सिंहदरबार आएजस्तो लागेको बताएका छन् । “अस्ती नै चुनावको बेला नेताहरुले गाउँमै सिंहदरबार आउँछ भन्थे”, जग्गाधनी प्रमाणपुर्जा पाएर मख्ख परेकी सञ्चीमाया स्याङ्तानले भने, “अब चैं होपो क्यारे जस्तो लाग्यो ।”

नापी कार्यालयले सो बस्तीका ६१ परिवारलाई उनीहरुको करेसाबारीसहित घरले चर्चेको जग्गाको तीन वर्ष पहिले विसं २०७३ मै नापी गरेको थियो । सोही नापीअनुसार सबैको जग्गाधनी प्रमाणपुर्जा बनाएर वितरण गरिएको नापी कार्यालय महोत्तरीका निमित्त प्रमुख लालले जानकारी दिए । आज जग्गाधनी प्रमाणपुर्जा पाउनेमा ५२ घरपरिवार तामाङ जनजाति र एक दलित एवं एक मुस्लिमसहित नौ घरपरिवार मधेशी रहेका छन् ।

नापी कार्यालयले जिल्लाभरिकै घरबासका गाउँब्लक जग्गाको नापी गरेर जग्गाधनी प्रमाणपुर्जा दिने अभियान नै चलाइएको जनाएको छ । जिल्लाका गाउँब्लकका जग्गामध्ये ९५ प्रतिशत नापी गरिसकिएको र क्रमशः जग्गाधनी प्रमाणपुर्जा वितरण गरिँदै लगिने निमित्त प्रमुख लालको भनाइ छ ।