बाग्मती

स्थानीय सरकार मामिलामा खोज पत्रकारिता तालीम शुरु

बनेपा । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा मण्डनदेउपुर नगरपालिका–२ स्थित नगरकोटमा आजबाट स्थानीय सरकार मामिला खोज पत्रकारिता तालीम शुरु गरेको छ ।

पत्रकारहरुलाई आफूले गरिरहेका कामलाई थप गहिराइसम्म पुगेर काम गर्न सहज बनाउने उद्देश्यले स्थानीय सकरारसँग मिलेर तालीम कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए ।

कार्यक्रमका प्रशिक्षक एवं खोज पत्रकार केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारहरुका लागि राम्रो पढाइ र राम्रो तालीमको आवश्यक भएको बताए । राम्रो पढाइ र तालीमबाट नै राम्रो पत्रकारिता हुने उल्लेख गर्दै उनले त्यसको माध्यमबाट सतहमा देखिनेभन्दा भित्रसम्म पुगेर खोजेर लेख्ने काम गर्न सहयोग पुग्ने बताए । तालीममा खोज पत्रकार केन्द्रका शिव गाउँले र हरिबहादुर थापाले प्रशिक्षण दिए ।

आइतबारसम्म चल्ने तालीममा जिल्लाबाट राष्ट्रिय र स्थानीयस्तरमा कार्यरत सञ्चारमाध्यममा आबद्ध ६० पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।