प्रदेश 1

अतिविपन्न परिवारका एक हजारलाई निःशुल्क मिटर बक्स वितरण

भद्रपुर । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण शाखाले आर्थिक वर्ष २०७५।७६ मा अतिविपन्न परिवारका एक हजार ३१५ लाई निःशुल्क मिटर बक्स वितरण गरेको जनाएको छ ।

यस कार्यलय मातहतमा रहेका भद्रपुर नगरपालिका, मेची नगरपालिका, कचनकवल, बुद्धशान्ति र हल्दिबारी गाउँपालिकाका अतिविपन्न परिवारलाई विद्युत्को मिटर बक्स वितरण गरिएको कार्यालयका प्रमुख रामउद्गार साहले बताए ।

उहाँका अनुसार कार्यालयले गत आर्थिक वर्षमा चार हजार ११३ नयाँ ग्राहक थप गरी जम्मा ५८ हजार ५४ ग्राहक बनाएको छ । वितरण शाखाले सो अवधिमा ११.२४ किलोमिटर ११ केभी लाइन र ६४.५६ किलोमिटर एलटी लाइन निर्माण गरेको छ भने विद्युत् चुहावट गर्ने ३१ लाई कारवाही गरी उनीहरुबाट रु दुई लाख ४६ हजार ५०९ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले ४७७ थान बन्द रहेका मिटरलाई निःशुल्क फेर्ने, ७७ ट्रान्सफर वितरण गर्नुका साथै नयाँ ५० थान ट्रान्सफर जडान गरी २७ ट्रान्सफरको क्षमता वृद्धि गरिएको जनाएको कार्यालय प्रमुख साहले बताए । शाखाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा रु १० करोड बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

प्राधिकरणले आर्थिक वर्ष २०७५।७६ मा रु ७४ करोड ३६ लाख २२ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७४।७५ मा विद्युत् बिक्रीबाट रु ६५ करोड ५० लाख १७ हजार ८४४ राजश्व मात्र सङ्कलन गरेको थियो । शाखा प्रमुख साहका अनुसार कार्यालयले अन्य विभिन्न शीर्षकबाट रु ७२ करोड ५३ लाख ५५ हजार ६३२ थप असुली गरेको छ ।