आर्थिक

जमीनका कित्ताकाट सम्बन्धी विवरण पहिलो पटक सार्वजनिक

रसुवा । गत आर्थिक वर्षमा नापी कार्यालयले गरेका जग्गा जमीनका कित्ताकाट सम्बन्धी विवरण पहिलो पटक सार्वजनिक गरिएको छ । नापी कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा खरीद बिक्री भएका जग्गा जमीनमध्ये ३२१ कित्ताकाट भएका छन् ।

सरकारको पारदर्शी नीतिलाई अनुशरण गर्दै वर्ष दिनसम्मको कार्यप्रगति आम नागरिकलाई जानकारी गराउन सार्वजनिक गरिएको नापी प्रमुख ध्रुव पौडेलले बताए ।

नापी कार्यालयले गत आर्थिक वर्षमा बैकिङ कारोवार र व्यक्तिगत प्रयोजनको लागि तीन हजार ३४२ ट्रेस नक्सा तयार गरेको र सेवाग्राहीको मागअनुसार जमीन भएको ठाउँमा स्थलगत गई ४५ कित्ता रेखाङ्कन गरिएको जनाएको छ ।

यस्तै मालपोत कार्यालयले गत आर्थिक वर्षमा जग्गा जमीन खरीदको ८७०, अंशबण्डा ७१, शेषपछि खान पाउने २२, हालैको बकसपत्र ९३, दर्ताफारी आठ, पति पत्नीबीच सगोलमा २६ को समेत एक हजार १४१ लिखत पारित गरेका मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

मरूवा नामसारी ९६, जग्गा धनी प्रमाणपूर्जा नमिलेका ठेगाना संशोधन, १० र जग्गाको दाखेल खारेज चार वटाको कार्यसम्पादन गरिएको जनाइएको छ ।