खेलकुद

नेपालले कुवेतलाई हराएपछि टी २० क्रिकेटमा ग्लोवल छनौटमा पुग्ने सम्भावना बढ्यो

काठमाण्डौ । आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । त्यस्तै नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ भने कुवेत चार खेलबाट तीन अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।

कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा मात्र तीन विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । उनले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गरे । त्यस्तै शरद भेषवाकरले अविजित ३८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । त्यस्तै रोहितकुमार पौडेलले अविजित छ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले एक रन जोडे ।

कुवेतका मुहमद कासिफले तीन विकेट लिए । नेपालले आइतबार आयोजक सिङ्गापुरसँग अन्तिम खेल खेल्नेछ । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै ४९ रन जोडे भने आदनन इद्रेसले २५, मोहमद आस्लमले २३, राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

नेपालका सन्दिप लामिछाने र वसन्त रेग्मीले समान तीन विकेट लिए भने करण केसीले दुई तथा अविनाश बोहराले एक विकेट झारे । तालिकाको शीर्ष स्थानमा रहेको सिङ्गापुरको पाँच अङ्क रहेको छ । अब नेपाल र सिङ्गापुरमध्येका विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा कुवेत, मलेसिया र कतार भने बाहिरिएका छन् ।