समाचार

ऐन नआउँदा युवाका क्षेत्रमा काम गर्न समस्या: उपाध्यक्ष ढुङ्गेल

काठमाडौँ । राष्ट्रिय युवा परिषद्सम्बन्धी ऐन चाँडै नआउँदा युवाका गतिविधि सञ्चालन गर्न समस्या भएको छ । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सङ्घ, प्रदेश र स्थानीय तहमा परिषद्को सङ्गठन संरचना स्थापना गर्न ऐन ल्याउन आफूहरुले तयारी गरेपनि सरकारका कारण ढिलाइ भएकाले युवाका गतिविधि सञ्चालनमा समस्या भएको बताए ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा युवा उद्यमी अन्तरक्रिया’ कार्यक्रममा उनले ऐन नआउँदा प्रदेश र स्थानीय तहमा युवाका कार्यक्रम लैजान नसकिएको जानकारी दिए । परिषद्ले मुलुक सङ्घीयतामा गइसकेपछि राष्ट्रिय युवा परिषद् ऐन–२०७२ लाई संशोधनसहितको ऐन तथा प्रदेशमा ‘प्रदेश युवा परिषद् ऐन–२०७५’, र पालिका युवा स्थापना गर्नका लागि ‘स्थानीय तह युवा विकास समिति नियमावली, २०७५ ल्याउने’ तयारी गरेको छ ।

“प्रदेश र स्थानीय तहमा संरचना स्थापना गर्नका लागि ल्याउन थालिएका ऐन र नियमावली अहिले संसद्मा पेश भएको छैन”, उनले भने, “ऐन चाँडै नआउँदा प्रदेश र स्थानीय तहमा युवासम्बन्धी कार्यक्रम सञ्चालन गर्न पाएका छैनौँ ।” प्रदेश ऐनमा प्रत्येक प्रदेशमा सामाजिक विकासमन्त्रीको अध्यक्षतामा प्रदेश युवा परिषद् गठन र समिति नियमावलीमा ७५३ स्थानीय तहमा नगरपालिकाका प्रमुख वा गाउँपालिकाका अध्यक्षको अध्यक्षतामा गाउँपालिका विकास समिति गठन गर्ने व्यवस्था छ ।

उपाध्यक्ष ढुङ्गेलले देशभर रहेका जिल्ला युवा समितिलाई निष्क्रिय पार्दा युवाका गतिविधि तल्लो तहसम्म लैजान नसकिएको बताए । प्रदेश र स्थानीय तहले युवाका कार्यक्रम सञ्चालन गर्न आफूहरुले आग्रह गर्दासमेत नमानेको उनको भनाइ रहेको थियो । “प्रदेश र स्थानीय तहले युवाका मुद्दा अझै बुझेका छैनन, हामीले केन्द्रबाट उनीहरुलाई युवाका क्षेत्रमा काम गर्न पटक–पटक भनेका छौँ”, उनले भने, “तर, उनीहरुले न हाम्रो आग्रहलाई मानेका छन् न आफू नै युवाका क्षेत्रमा काम गरेका छन्, हामीले सम्झाउँदा पनि बुझ्दैनन् ।”

उनले युवाका समस्या प्रदेश र स्थानीय सरकार नबुझेको हुनाले छुट्टइएको बजेट पनि फ्रिज भएको बताए । कार्यक्रममा युवा तथा खेलकूद सचिव कृष्ण देवकोटाले तल्लो तहसम्म परिषद्को कामलाई पु¥याउन सके युवाका समस्यालाई सम्बोधन गर्न सकिने बताए । उनले छोटो अवधिका तालीम दिएर युवालाई स्वरोजगारमुखी बनाउनुपर्ने बताए ।

कार्यक्रममा परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले गत आर्थिक वर्षमा करीब पाँच हजार युवालाई युवा उद्यमशिलता, युवा नेतृत्व विकाससम्बन्धी तालीम दिएको जानकारी गराए । उनका अनुसार ७७ वटा स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लब गठन तथा सात प्रदेश र सङ्घमा नमूना युवा संसद् अभ्याससमेत गरिएको बताए ।