लुम्बिनी

पुँजीगत लाभ कर गणना विधिको शुरुपछि लगानीकर्ता असन्तुष्ट

खस्यौली । पुँजी बजारमा प्रविधिको पहुँच बढ्न लागेको बेला सिडिएस एण्ड क्लीयरीङ लिमिटेड (सिडीएससी)ले पुँजीगत लाभ कर गणना विधि शुरु गरेपछि मोफसलमा लगानीकर्ता असन्तुष्ट भएका छन् ।

सो विधि र प्रक्रिया अवैज्ञानिक, झन्झटिलो र अव्यहारिक भएकाले बजारमा यसको नकारात्मक प्रभाव परेको लगानीकर्ताको गुनासो छ । सिडीएससीले साउन १ गतेदेखि लागू गरेको विधिलाई सच्चाएर वैज्ञानिक र यथार्थपरक गणना विधि लागू गर्न शेयर बजारका लगानीकर्ताले माग गरेका थिए । त्यसपछि पुँजीगत लाभकर गणना विवाद केही समयका लागि अन्त्य भएको छ र कम्पनीको मूल्यको औसतलाई आधार बनाएर आधारभूत मूल्य निर्धारण गर्ने र सोही आधारमा पुँजीगत लाभकर गणना गर्ने व्यवस्थाका लागि माथिल्लो निकायमा सिफारिस गर्ने सहमतिसमेत भएको छ ।

सफल नेपाल इन्भेष्ट कमपनीका महासचिव माधव पाण्डेले सिडीएससीले साउन १ गतेदेखि शुरु गरेको पुँजीगत लाभकर गणना विधिले बजारमा नकारात्मक असर परेको उल्लेख गर्दै अव्यहारिक र झन्झटिलो प्रणाली भएको बताए ।

उनले खास गरेर वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि अझ वढी झन्झट भएको उल्लेख गर्दै हामी ल्याप्चे युगमा जान थालेको टिप्पणी गरे । “एकतिर बजारमा अनलाइन प्रणाली अर्कोतिर ल्याप्चे यसले कस्तो सन्देश जान्छ”, पाण्डेले भने । उनले यो प्रणालीबाट धेरै लगानीकर्ता असन्तुष्ट भएको बताए ।

लिन्च स्टक मार्केटकी सोनम पाठकले सिडीएसीको प्रणाली ठिक हुँदाहुँदै पनि लगानीकर्ताले झन्झट व्यहोर्नुपरेको बताए । उनले विदेशमा बसेका लगानीकर्तालाई कारोवार गर्न असहज भएको उल्लेख गर्दै ल्याप्चे लगाउन नपर्ने भए सजिलो हुन्थ्यो भने ।

बुटवल र भैरहवामा ६ ब्रोकर कार्यालय रहेको यस क्षेत्रमा लगानीकर्ताले शेयर बजारमा लगानी बढाउन थालेका छन् । यहाँका ब्रोकर कार्यालयबाट दैनिक रु एक करोडको कारोवार हुँदै आएको छ । यस अघि प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमले सो अवधारणको विरोध गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको थियो ।