प्रदेश 1

अभावग्रस्त क्षेत्रमा खाद्यान्न वितरण गरियो

गाईघाट । अविरल वर्षाका कारण उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण शुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो । जिल्लाको पहाडी क्षेत्रमा खाद्यान्न समस्या भएको छ ।

शुक्रबार ताप्ली गाउँपालिकाको बैठकले खाद्यान्न सङ्कट भएका वडा र परिवारको सङ्ख्याका आधारमा वितरण गर्ने निर्णय गरेको अध्यक्ष उद्धवसिंह थापाले बताएका छन । पैँतीस बोरा चामल, दाल र तेल वडाका प्रतिनिधिमार्फत वितरण गरिएको उनले बताए ।

यस्तै लिम्चुङबुङमा ५० बोरा चामल, दाल र तेल आज गाउँपालिको बैठक बसी तत्काल खाद्यान्न सङ्कट भएका वडामा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष रमिला राईले बताएका छन । “सबै ठाउँमा खाद्यान्न ढुवानी गरी वितरण गर्ने तयारीमा छौँ”, उनले भने । लिम्चुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गाउँपालिकामा खडेरीका कारण मकैबाली नष्ट भएको छ । यहाँ खाद्यान्न अभाव भएको छ ।

सदरमुकाम गाईघाट र कटारी क्षेत्रबाट खाद्यान्न ढुवानी गरी सो क्षेत्रका बासिन्दा खानपिनको जोहो गर्दै आएका छन् । खाद्यान्न सङ्कट भएपछि प्रदेश १ सरकारको सहयोगमा जिल्लाको पहाडी क्षेत्रमा ७०० क्विन्टल चामल, दाल र तेल हेलिकप्टरबाट ढुवानी गर्न थालिएको छ ।