गण्डकी प्रदेश

कास्किमा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या घट्दो

कास्कि । कास्कीमा आर्थिक वर्ष २०७५÷७६ मा सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा सवारीसाधन दुर्घटनाबाट ३१ जनाको मृत्यु भएको थियो । आव २०७४÷७५ मा सवारीसाधन दुर्घटनाबाट ४७ जनाले ज्यान गुमाएका थिए ।

तथ्याङ्क अनुसार सडक दुर्घटना भने बढेको पाइएको छ । आव २०७५÷७६ मा ८२ वटा सवारीसाधन दुर्घटना हुँदा ८० जना घाइते भएका थिए । आव २०७४÷७५ मा ७९ सवारीसाधन दुर्घटनामा परी ८८ जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको सङ्ख्या पनि बढेको छ । आव २०७५÷७६ मा नियम उल्लङ्घन गर्ने ६४ हजार २०० चालक कारवाहीमा परेका थिए । आव २०७४÷७५ मा ५१ हजार ५०१ चालकलाई कारवाही गरिएको थियो ।

ट्राफिक नियमको उल्लङ्घन, कमजोर सडक संरचना र सीमित क्षेत्रमा बढ्दो सवारी चापका कारण दुर्घटना बढेको प्रहरी नायब निरीक्षक जीतजङ्ग कार्की बताउछन । दुर्घटनामा कमी ल्याउन चालक जिम्मेवार हुनुपर्ने र सडक संरचनाको स्तरोन्नति आवश्यक भएको उनको भनाइ छ ।

एक वर्षको अवधिमा जथाभावी पार्किङ गरिएका दुई हजार ९०० सवारीसाधनमा ह्विल तथा चेन लक लगाइएको थियो । आव २०७५÷७६ मा नियम विपरीत सवारीसाधन चलाएबापत रु चार करोड ४७ लाख ३७ हजार राजश्व सङ्कलन गरिएको छ ।  पर्यटकीय शहर पोखरामा बढ्दो सवारीसाधनको चापका कारण ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको कार्कीले बताए । जिल्लामा ८८ ट्राफिक जनशक्ति रहेको छ ।

एक जना ट्राफिकले दुई हजार ४७७ सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ । जिल्लामा हालसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या दुई लाख पाँच हजारभन्दा बढी रहेको छ ।