अन्तर्राष्ट्रिय

इबोलाका कारण साउदी अरेबिया प्रवेशमा कडाई

किन्सासा । साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेहरुलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अबरोध नगर्न सिफारिस गरेपनि साउदी अरेबियाले नयाँ व्यवस्था लागू गरेको हो ।

कंगोका केही मुस्लिम समुदायले अर्को महिना साउदी अरेबियामा हज गर्ने योजना बनाएका थिए । साउदी अरबस्थित कंगोको राजदूतावासलाई साउदी विदेश मन्त्रालयले एक पत्र पठाई धार्मिक तिर्थयात्री र अरुको सुरक्षाका कारण साउदी अरेबियाले कंगोली नागरिकलाई भिसा दिन बन्द गरेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले यसै महिना इबोलाको संक्रमण तिब्र भएको जनाउँदै यसलाई अन्तर्रा्ष्ट्रिय रुपको आपतकाल भनी घोषणा गरेको थियो । कंगो र आसपासका मुलुकमा मात्र इबोलाबाट हालसम्म करिब एक हजार ७०० को ज्यान गइसकेको छ ।

साउदी अरेबियाले पश्चिम अफ्रिकामा केही वर्षअघि इबोला फैलिँदा पनि यस्तै निर्णय गरेको थियो । त्यसबखत इबोलाबाट करिब ११ हजारको ज्यान गएको थियो । साउदी सरकारको नयाँ निर्णयबाट कंगोली नागरिकका साथै अरु व्यक्तिलाई पनि असर पर्नेछ । कंगो सरकारले साउदी सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।