अन्तर्राष्ट्रिय

सिरियामा तीन महिनामा चार लाख विस्थापित

बेरुत । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट गत तीन महिनामा विस्थापित भएकाहरुको संख्या चार लाख नाघेको छ । राष्ट्रसंघीय निकायले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गरेपछि उनीहरु विस्थापित भएका हुन् ।

“गत अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा तीन महिनामा चार लाखभन्दा बढी विस्थापित भएका छन,” राष्ट्रसंघको मानवीय मामिला निकायका डेभिड स्वान्सनले भने । आक्रमण भएको क्षेत्रमा झण्डै ३० लाख बासिन्दा बस्ने गर्दथे । उनीहरुमध्ये आधाभन्दा बढी यसअघि नै विस्थापित भइसकेका थिए ।

विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा यसको प्रभाव बढी परेको छ । “झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएका छन” उनले भने ।  यस क्षेत्रको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गर्नुभएको छ । उनीहरु यसअघि अल कायदामा आवद्ध थिए ।

अप्रिलको अन्त्यदेखि अहिलेसम्ममा ७३० भन्दा बढी नागरिक मारिएको बेलायतमा कार्यालय रहेको अनुगमनकर्ताको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।