समाचार

आजबाट अपाङ्गता परिचय पत्र वितरण शुरु

भक्तपुर । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले आजदेखि नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई रातो र निलो रङ्गको परिचयपत्र वितरण शुरू गरेको छ ।

नगरपालिकाले आज आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्रका पूर्ण अशक्त ६० जनालाई रातो कार्ड र अतिअशक्त १४५ जनालाई निलो कार्ड गरी २०५ जनालाई परिचयपत्र वितरण गरे ।

मध्यम खालको अपाङ्गता भएकालाई पहेँलो र सामान्य अपाङ्गता भएकालाई सेतो परिचयपत्र वडा कार्यालयबाटै वितरण गरिने भएको छ ।

उनले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखी समान ढङ्गले हेर्दै आएको बताए । उनले नगरपालिकाभित्रका सरकारी सङ्घ–संस्था, पोखरी र पार्कलाई अपाङ्गमैत्री बनाउने उद्देश्यले काम भइरहेको जानकारी गराए ।

नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको वृत्तिविकासका लागि रु १५ लाख बजेट विनियोजन गरेको बताए ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, आवश्यक सहायक सामग्रीका लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपी पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालनलगायतका कार्य गर्दै आएको बताए ।

उनले शारीरिक रुपमा अशक्त व्यक्तिका लागि नेपाल सरकारले अपुग बजेट छु्याएको बताए ।