स्वास्थ्य

राजपुरमा पनि सिकलसेल एनिमियाँ जाँच हुने

लमही । दाङको विकट क्षेत्र राजपुर गाउँपालिकामा पनि सिकलसेल एनिमियाँको जाँच हुने भएको छ । सिकलसेल ऐनिमियाँ जाँचका लागि सिपी नेपाल संस्थाले राजपुर गाउँपालिकाका बेला र राजपुर स्वास्थ्य चौकीलाई दुई लाखभन्दा बढी मूल्य बराबरका प्रयोगशाला सामग्री उपलब्ध गराएको छ ।

सोही प्रयोगशालाका सामग्रीबाट अब राजपुरमा पनि सिकलसेल एनिमियाँको प्रारम्भिक जाँच गरिने गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले जानकारी दिए । ती सामग्रीलाई सिपी नेपालका पदाधिकारीले गाउँपालिका उपाध्यक्ष यादवलाई हस्तान्तरण गरेका हुन् । “यसअघि गाउँपालिकामा सिकलसेल एनिमियाँको जाँच गर्ने प्रयोगशालाका सामग्री थिएनन्”, उनले भने, “अब भने सामग्री पनि आएका छन्, ती सामग्री प्रयोग गरेर सिकलसेल जाँच हुनेछ ।”

उनका अनुसार राजपुर स्वास्थ्य चौकीमा दुई लाख ४० हजार बराबरका प्रयोगशाला सामग्री स्वास्थ्य प्रमुख खिमबहादुर रावतलाई हस्तान्तरण गरिएको छ भने बेला स्वास्थ्य चौकीलाई नौ हजार ५०० बराबरका सामग्री बेलाका प्रमुख सचिन्द्रकुमार यादवलाई हस्तान्तरण गरिएको छ ।

यसअघि सिकलसेल एनिमियाको प्रारम्भिक जाँच गर्न नेपालगञ्ज वा काठमाडौँ नै जानुपर्ने अवस्था थियो । यी दुवै स्वास्थ्य चौकीलाई माग फारमका आधारमा उपकरण दिने भनिए पनि यो पटक आर्थिक अभावका कारण राजपुर स्वास्थ्य चौकीलाई माग फारमअनुसार उपकरण उपलब्ध गराइएको र बेला स्वास्थ्य चौकीलाई अर्कोपटक उपलब्ध गराइने सिपी नेपाल विद्यार्थीका संयोजक दीपा चौधरीले जानकारी दिए ।

राजपुर गाउँपालिका पनि थारुको बाहुल्य भएको क्षेत्र हो । सिकलसेल एनिमियाँ थारु समुदायका नागरिकमा बढी देखिएको छ । तर सिकलसेल एनिमियाँको प्रारम्भिक जाँच गर्ने सहज वातावरण नहुँदा सबै नागरिकको जाँच गर्न सकिएको थिएन् ।

त्यसैले दाङका सबै थारु समुदायका नागरिकलाई सिकलसेल एनिमियाँ जाँच गर्ने पहुँचमा ल्याउनुपर्ने आवाज उठिरहेका छन् । दाङमा थारुको कूल सङ्ख्याको १५ प्रतिशतमा सिकलसेल देखिएको यसअघिका अध्ययनले देखाएका छन् ।