आर्थिक

सेवासुविधा कटाएर विपद् व्यवस्थापन कोष स्थापना

रुकुमपूर्व। रुकुमपूर्वको भुमे गाउँपालिकाले गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिनेको सुविधा रकम कटाएर विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । गाउँपालिकाको कार्यालयबाट सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारी लगायतबाट केही रकम सङ्कलन गरेर गाउँपालिकाले कोष खडा गरेको हो ।

विसं २०७४ असार २७ गतेको गाउँकार्यपालिका बैठकले गाउँपालिकाबाट सेवासुविधा लिनेको वर्षमा दुई दिन बराबरको सेवासुविधा कटाएर कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा हालसम्म रु सात लाख ५३ हजार १६२ जम्मा भएको छ ।

सो कोषबाट अहिलेसम्म रु दुई लाख ५२ हजार ५०० खर्च भएको छ भने अब कोषमा बाँकी रु पाँच लाख ३३ हजार ६२ मौज्दात रहेको छ । विपद् व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन निर्देशिका विसं २०७४ अनुसार यो कोष सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए ।
कोषमा रहेकोमध्ये रु एक लाखबाहेक बाँकी सबै रकम सेवासुविधाबाट प्राप्त भएको हो । रु एक लाख भने गाउँपालिकाले विनियोजन गरेको श्रेष्ठको भनाइ छ । निर्देशिकाले कुनै विपद्का कारण रु ५० हजारसम्म क्षति भएमा दुई हजार, ५० हजारभन्दा बढी रु एक लाखसम्म क्षति भएमा पाँच हजार, एक लाखभन्दा माथि तीन लाखसम्म क्षति भएमा सात हजार, तीन लाखभन्दा माथि पाँच लाखसम्म क्षति भएमा आठ हजार ५०० र पाँच लाखभन्दा बढीको क्षति भएमा १० हजार राहत दिने व्यवस्था गरेको छ ।

विपद्मा परी मानवीय क्षति भएको तथा विशेष परिस्थितिको हकमा भने गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समिति र गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएबमोजिम राहत वितरण गर्ने निर्देशिकामा व्यवस्था छ ।

अहिलेसम्म २१ वटा घटनाका पीडितले गाउँपालिकाबाट राहत पाएका छन् । सबैभन्दा कम पाउनेले रु दुई हजारदेखि सबैभन्दा बढी पाउनेले रु ५० हजारसम्म राहत पाएको गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए । उनका अनुसार अहिलेसम्म बाढीपहिरो, आगलागी, जङ्गली जनावरको आक्रमणलगायतका घटनाका पीडितलाई राहत बाँडिएको छ ।