लुम्बिनी

चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना

लमही । दाङका चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु भएको छ । रोजगारको नाममा विदेश जानेको सङ्ख्यालाई न्यूनीकरण गर्नका लागि यो परियोजना शुरु भएको हो ।

विदेश जानुपर्ने अवस्था सिर्जना भएमा त्यसलाई सुरक्षित बनाउनका लागि यो कार्यक्रम लागू भएको परियोजनाका कार्यक्रम संयोजक सनत सापकोटाले जानकारी दिए । “हामी सकेसम्म विदेश पलायनलाई निरुत्साहित गर्‍छौँ”, उनले भने, “यदि जाने नै भए त्यसलाई सुरक्षित बनाउने प्रयास गर्छौं ।” उनका अनुसार दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकाको साथै लमही नगरपालिका र बबई गाउँपालिकामा उक्त कार्यक्रम लागू हुने भएको छ ।

स्विस सरकारको सहयोगमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हेल्विटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन सामी परियोजनामार्फत उक्त कार्यक्रम लागू भएको हो । दाङ प्रदेश नं ५ का १२ जिल्लामध्ये दाङ दोस्रो नम्बरमा रहेको भन्दै यसलाई न्यूनीकरण गर्न परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।

साविक जिल्ला विकास समितिमार्फत कार्यक्रम सञ्चालन भएको सामी परियोजना अब चार पालिकासँग जोडिएको हो । परियोजना सञ्चालनका लागि घोराहीमा रु ४२ लाख ५० हजार, तुलसीपुरमा रु १७ लाख ७५ हजार, लमही र बबईमा ११ लाख ६१ हजारका दरले बजेट आएको छ ।

जिल्ला प्रशासन र इलाका प्रशासनबाट निकै धेरै राहदानीहरु बन्ने गरेको तर श्रम स्विकृति लिएर जानेको सङ्ख्या थोरै देखिएको भन्दै लुकीचोरी विदेश जाने क्रमलाई रोक्न, सीप र ज्ञान लिएर मात्रै विदेश जानेलाई परामर्श दिन र सकेसम्म आफ्नै ठाउँमा काम गरेर खाने वातावरण बनाउने गरी गरी कार्यक्रम लागू हुने भएको छ । कार्यक्रममा यसअघि सामी परियोजनाले घोराही आप्रवासी स्रोत केन्द्रबाट रु तीन करोड ४२ लाख पीडकहरुबाट क्षतिपूर्ति भराएर न्याय दिएको थियो भने १५ हजारलाई परामर्श दिएको परियोजनाका पञ्चराम चौधरीले जानकारी दिए ।