पर्यटन/संस्कृति

सरकारले बनाउने भनिएको खुल्ला नाचघर निर्माणः कतै शुरु कतै अन्योल

रुपन्देही। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले बनाउने भनिएको खुला नाचघर निर्माणको काममा ढिलाइ भएको छ । प्रदेश सरकारले पर्यटकीय सम्भावना भएका ठाउँमा सांस्कृतिक डबली तथा खुला नाचघर निर्माणको काम थालेको हो ।

प्रदेश सरकारले पाल्पाको तानसेन, दाङको घोरदौरा, रुपन्देहीको नुवाकोटगढी र बर्दियाको ठाकुरद्वारामा खुला नाचघर निर्माण गर्ने घोषणा गरेको थियो । मन्त्रालयले चारवटै जिल्लामा डिभिजन वन कार्यालयमार्फत नाचघर निर्माणको काम अगाडि बढाइए पनि पाल्पाबाहेक अन्य जिल्लामा काम अगाडि बढ्न सकेको छैन ।

प्रदेश सरकारले यो वर्ष पनि सांस्कृतिक डबली तथा नाचघर निर्माणका लागि दुई÷दुई करोडका दरले बजेट विनियोजन गरेको छ । योजनाअनुसार पाल्पाको तानसेनमा मात्रै निर्माणको काम शुरु भएको छ । अन्य जिल्लामा भने काम शुरु भएको छैन ।

तानसेनमा नाचघर निर्माणको शिलान्यास भए पनि अन्य तीन जिल्लामा विस्तृत परियोजना प्रतिवेदन मात्रै तयार भएको पर्यटन महाशाखा प्रमुख विजयराज सुवेदीले जानकारी दिए । “पाल्पामा शिलान्यास भएर निर्माणको काम अगाडि बढेको छ । अन्य तीन स्थानमा डिपिआर तयार भएको छ । अब ठेक्का प्रक्रिया सकिएपछि काम शुरु हुन्छ”, उनले भने ।

पाल्पामा आगामी दुई वर्षमा नाच घर निर्माणको काम सक्ने गरी काठमाडौँको प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिसँग रु छ करोड ८० लाखमा ठेक्का सम्झौता गरिएको हो । पाल्पाको श्रीनगरमा नाचघर निर्माणको काम थालिए पनि वर्षाका कारण अहिले केही दिन रोकिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले जानकारी दिए । “अर्ध चन्द्राकारमा निर्माण शुरु गरिएको नाचघरमा ५५० जना दर्शक बसेर हेर्न मिल्ने व्यवस्था मिलाइनेछ । बाहिरी भागमा करुवाबाट पानीको फोहोरा निस्किएको सुन्दर दृश्यसहितको कलात्मक नाचघर निर्माण हुनेछ”, प्रमुख पौडेलले भने ।

दाङको घोरदौरा, रुपन्देहीको नुवाकोटगढी र बर्दियाको ठाकुरद्वारामा भने नाचघर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि काम अगाडि बढेको छैन । बर्दियाको ठाकुरद्वारामा बनाउने भनिएको नाचघर निर्माण अन्योलमा छ ।

ठाकुरद्वारा राष्ट्रिय निकुञ्जको क्षेत्र भएका कारण डिभिजन वन कार्यालयको क्षेत्र नपर्ने भएपछि जग्गाको टुङ्गो लाग्न नसकेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख हरिप्रसाद श्रेष्ठले जानकारी दिए । “नाचघर निर्माणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले नमानेपछि गत आवमा पाँच लाखमा डिपिआरको काम पूरा गरी बाँकी बजेट फिर्ता पठायौँ”, उनले भने । यस वर्ष जग्गााको टुङ्गो लागे काम शुरु गर्ने सोंचाइमा रहेको उहाँको भनाइ छ ।

दाङमा पनि नाचघर निर्माणको काम अगाडि बढ्न सकेको छैन । गत वर्ष वन निर्देशनालयलाई जिम्मेवारी दिइएका कारण डिपिआरको काम पूरा गरी बाँकी रकम फिर्ता पठाएकाले यो वर्ष मात्रै काम शुरु हुने डिभिजन वन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीले बताए ।

नाचघर निर्माणका लागि रुपन्देहीमा पनि डिपिआर बनाउनेबाहेक अरु काम हुन सकेको छैन । मन्त्रालयका अनुसार यो वर्षमात्रै नुवाकोटगढीमा खुला नाचघर निर्माणका लागि पूर्वाधार बनाउने तयारी गरिनेछ । प्रदेश नं ५ को सम्मृद्धिको आधार नै पर्यटन भएकाले प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष जोड दिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको भनाइ छ ।

प्रदेशका कला र संस्कृति नाच घरमै बसेर हेर्न पाइने व्यवस्थासहित उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशका चार जिल्ला छनोेट गरी नाच घर निर्माणको काम अगाडि बढाएको पर्यटन मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताए । आन्तरिक र बाह्य पर्यटकलाई ध्यानमा राखेर नाचघर निर्माणको काम शुरु गरेको मन्त्रालयले जनाएको छ ।

नाचघरको निर्माणपछि आन्तरिक पर्यटकका साथै गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने विदेशी पर्यटकलेसमेत रुपन्देही, पाल्पा, दाङ र बर्दिया पुगेर प्रदेशको कला र संस्कृति हेर्न पाउने छन् । प्रदेशमा निर्माण हुने नाचघरका कारण पर्यटकको बसाइँ अवधि लम्बिने प्रदेश सरकारको विश्वास छ ।