प्रदेश 1

झापाको दमकमा १९ जनालाई डेंगु सङ्क्रमण

दमक। झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ ।

यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए ।

दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा फैलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उनले बताए। दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु सङ्क्रमण कम देखिएको उनले जानकारी दिए ।

अहिले वर्षा भइरहँदा लामखुट्टेले पारेका अण्डा पानी बगाएर लाने भएकाले डेंगुको जोखिम कम हुने पनि प्रमुख अर्यालले बताए । वर्षा रोकिएपछि भने जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने उनले बताए ।